ट्याक्टर चालकमाथि छुरा प्रहार

रेडियो गौशाला , ६१९  पटक हेरिएको

जनकपुरधाम- धनुषामा एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार भएको छ । धनुषाको बडहरी खोलामा बालुवा लिन गएका बेला मिथिला नगरपालिका ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार ट्रयाक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक पाँचजनाको समूहले ट्रयाक्टर रोकेर पैसा मागेका थिए । नदिएपछि आक्रमण भएको हो ।

गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । महतोको अहिलेसम्म पाँचवटा अप्रेसन भइसकेको उनको पारिवारिक श्रोतले बताएको छ ।

महतोसँग सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको प्रहरीको दावी छ । छुरा प्रहार गरेर भागेका पाँच जनामध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

घटनामा संलग्न भएको आरोपमा निरज लामा, रितेश लामा र किसन लामा पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान थालिएको र अन्य दुईजनाको खोजविन गरिरहेको जिल्ला प्र्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०८:४८:३२ , १ वर्ष अगाडि