रेडियो गौशाला , ७८० पटक हेरिएको
जनकपुरधाम- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आदिबासी जनजातिहरुले पहिचानको कुरा उठाउनु सकारात्मक विकास भएको बताएका छन् ।
उनले हिजोका दिनमा हाम्रो पहिचान भनेको, गोर्खापल्टनमा भर्ती हुन जाने सिपाही थियो तर, आज आदिवासी जनजातिहरुले पहिचानको कुरा उठाउनु सकारात्मक विकास भएको बताए । ‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्धनको लागि हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मंगलवार सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघ, नेपालको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री किराँतीले भने–‘०४६ को प्रजातान्त्रिक आन्दोलन पछि ०६२÷०६३ को जनआन्दोलनमा आदिवासी, जनजाति तथा मधेशी समुदायको दरिलो उपस्थिति भए पनि यो वर्ग अहिले पनि शोषित छ ।’ अब, नेपाली समाजको शल्यक्रिया गरिनु आजको मुख्य आवश्यक्ता भएको बताउँदै मन्त्री किराँतीले भने–‘अब, हिमाल, पहाड र तराईमा वसोवास गर्ने नेपाली संस्कृतिको मनोविज्ञानबाट मुलुक अगाडि बढ्नुपर्छ ।’ उहाँले अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने बताए ।
मलुकभित्रको चार सय ५३ स्थानीय निकायमा आदिवासी, जनजातिहरुको दरिलो उपस्थिति भए पनि माथिल्लो निकायमा हुने साझेदारीमा पछाडि पारिने गरेको आरोप लगाउँदै मन्त्री किराँतीले कोसी प्रदेशको सार्वभौम संसदमा आदिवासी जनजातिको उपस्थिति रहे पनि असल भूमिका नभएकाले स्थानको पहिचान गुमेको छ । तर, इतिहास कहिल्यै नमर्ने दृढता व्यक्त गर्दै उनले भने–‘ तर, अब आक्रोस र आवेगमा होईन, विवेकतापूर्वक अघि बढ्नुपर्छ ।’ हरिवन नगरपालिकाका प्रमुख कमल वुढाथोकीले मुलुक बनाउनेहरु नै अहिले बिभेदको शिकार भएको बताए । उनले मूल आदिवासी, जनजाति, मधेशी, दलितहरु संविधानले नैसर्गिक अधिकार दिएको स्वास्थ्य र शिक्षामा उनीहरुको पहुँच कमजोर अवस्थामा रहेको धारण राखे ।
बागमती नगरपालिकाका प्रमुख भरत थापाले निरंकुश राजतन्त्र, बहुदलीय प्रजातन्त्र र अहिले संघीय गणतन्त्र स्थापना भए पनि आदिवासी, जनजाति तथा मधेशीहरुको उत्थान हुन नसकेको टिप्पणी गरे । उनले भने–‘संघीयता सहितको संविधान बन्यो भनेर के गर्ने ? मुलुकको ठूलो हिस्सा ओगटेका विभिन्न जातजाति, भाषाधर्म, सम्प्रदाय तथा संस्कृति मान्ने व्यक्तिहरु पिल्सिएर बस्न वाध्य भएका छन् ।’
प्रकाशित मिति: २०२३-०३-२२ , समय : ०८:४८:३१ , २ वर्ष अगाडि