नेपाल–भारत सम्बन्ध बलियो बनाउन युवा पुस्ताको भूमिका महत्वपूर्ण छ: मन्त्री भण्डारी

रेडियो गौशाला , २६३६७४  पटक हेरिएको

महोत्तरी । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ सशक्त बनाउनका लागि युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

नेपाल भारत मैत्री संघ, मधेश प्रदेशको आयोजनामा जलेश्वरमा सम्पन्न “सम्मान तथा पुरस्कार वितरण कार्यक्रम”मा मन्तव्य राख्दै मन्त्री भण्डारीले भने, “राम–सीताको सम्बन्धबाट सुरु भएको हाम्रो ऐतिहासिक मित्रता आजसम्म जीवित छ। नेपालको भूमि कहिल्यै भारतविरुद्ध प्रयोग गरिने छैन।”

कार्यक्रममा “नेपाल–भारत सम्बन्ध : हिजो, आज र भोलि” विषयमा धनुषा र महोत्तरी जिल्लाका विद्यालयहरूले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने ४२ जना विद्यार्थीलाई साइकल र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रमको उद्देश्य नेपाल–भारतबीचको मित्रता प्रवर्द्धन गर्नु, नयाँ पुस्तामा मैत्री भावना विकास गर्नु र शिक्षा तथा सिर्जनात्मकतामा विद्यार्थीहरूको सहभागिता बढाउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा नेपाल भारत मैत्री संघका मधेश प्रदेश अध्यक्ष लभ राजा सिंहको अध्यक्षता, लोसपाका राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद महन्थ ठाकुर प्रमुख अतिथि, मधेस प्रदेशका शिक्षा तथा संस्कृत मन्त्री रानी कुमारी तिवारी, प्रदेश सांसद जैनुल राइन, भारतीय राजदूतावास वीरगंजका काउन्सलर डिएस मिना, जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी रिसाल लगायत विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय बुद्धिजीवी, शिक्षक तथा समाजसेवीहरूको उपस्थिति थियो।

प्रकाशित मिति: २०२५-०७-१९ , समय : ०७:०६:४५ , २ महिना अगाडि