रेडियो गौशाला , १२८१ पटक हेरिएको

काठमाडौं, ७ साउन — प्रहरीले अबदेखि पक्राउ परेका व्यक्तिहरूको तस्वीर र भिडियो सार्वजनिक नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले देशभरका सबै प्रहरी इकाइहरूलाई परिपत्र पठाउँदै सो जानकारी दिएको हो।
प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार, कानुनी प्रक्रिया नसकिन्जेल पक्राउ परेका व्यक्तिको गोपनीयता कायम राख्नुपर्छ भन्ने सिद्धान्तअनुसार यस्तो निर्णय गरिएको हो। “अदालती फैसला नआउँदासम्म कसैलाई दोषी भन्न मिल्दैन,” प्रवक्ता कडायतले बताए, “त्यसैले प्रहरी हिरासतमा रहेका व्यक्तिको तस्बिर वा भिडियो सार्वजनिक गर्दा मानवीय तथा कानुनी पक्षमा प्रश्न उठ्ने भएकाले यस्तो कदम चालिएको हो।”
यसअघि विभिन्न अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूको तस्वीर प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गर्ने चलन थियो। तर यसले अभियुक्तको व्यक्तिगत गोपनीयता र निष्पक्ष सुनुवाइको हकमा असर पर्ने भन्दै आलोचना हुँदै आएको थियो।

मानव अधिकार आयोग, कानुन व्यवसायीहरू र नागरिक समाजले पटकपटक यस विषयमा चिन्ता व्यक्त गर्दै आएका थिए। प्रहरीको पछिल्लो निर्णयले मानव अधिकारको संरक्षणतर्फ सकारात्मक संकेत दिएको उनीहरू बताउँछन्।
यस परिपत्रले देशभरका पत्रकार र सञ्चारमाध्यमलाई समेत असर गर्ने देखिएको छ, किनकि अब प्रहरी स्रोतमार्फत हिरासतमा रहेका व्यक्तिको भिडियो वा तस्बिर प्राप्त गर्न कठिन हुने अनुमान गरिएको छ।
प्रहरीले परिपत्रमा भनेको छ — “यस निर्देशको उल्लंघन भएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि आवश्यक अनुशासनात्मक कारबाही गरिनेछ।”
प्रकाशित मिति: २०२५-०७-२३ , समय : २१:५८:४८ , ३ दिन अगाडि