पर्यावरण अभियन्ता दिलीपको चौथो स्मृति दिवस मनाइयो

रेडियो गौशाला , ११५२  पटक हेरिएको

जनकपुरधाम । अवैध नदी दोहनको विरोध गर्दा क्रसर माफियाबाट मारिएका ओमप्रकाश महतो (दिलीप) को चौथो स्मृति दिवस मनाइएको छ ।

धनुषाको ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा चुरे संरक्षणमा दिलीपको योगदान शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरी उनको स्मृति दिवस मनाइएको हो ।

ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानको आयोजनामा मिथिला नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा न्यू होराइजन इंग्लिस बोर्डिङ्ग स्कूलकी शारदा सिंह प्रथम भएकी छन् ।

सन फ्लावर इंग्लिस बोर्डिङ्ग स्कूलका सुगम पोखरेल दोस्रो भएका छन् भने महेन्द्र माध्यमिक विद्यालयका आनन्दकुमार महतो तेस्रो भएका हुन् ।

त्यस्तै, सार्वजनिक माविका मनिषकुमार महतो, चिल्ड्रेन गार्डेन इंग्लिस बोर्डिङ्ग स्कूलका धिरज सिंह र महेन्द्र माविकै शिवजीप्रसाद दाहालले सान्त्वना पुरस्कार हात पारेका छन् ।

प्रतिष्ठानकी अध्यक्ष संगम महतोको अध्यक्षता तथा नेपाल एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री सत्रुधन महतोको प्रमुख आतिथ्यमा वक्तित्वकला भएको हो ।

प्रतियोगीहरुलाई वन निर्देशनालयका अधिकृत एवं पर्यावरण संरक्षण अभियानी सुरेश शर्मा, भू तथा जल संरक्षण समाज मधेश प्रदेशका अध्यक्ष बेचनकुमार महतो, वडाध्यक्ष नन्दकिशोर यादव, प्रतिष्ठानका अध्यक्ष सँगमकुमारी महतोलगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।

२५ पुस २०७६ मा धनुषाको मिथिला नगरपालिका ५, श्रीपुरका पर्यावरण संरक्षण अभियन्ता दिलीपको औरही खोलामा भइरहेको उत्खन्न रोकाउन जाँदा टिप्परले किचेर उनको हत्या भएको थियो ।

उनको हत्या अभियोगमा जिल्ला अदालत धनुषाबाट २०७९ फागुनमा तीन जनालाई साढे १२ वर्षदेखि २५ वर्षसम्मको कैद सजाय आदेश दिएको छ ।

प्रकाशित मिति: २०२४-०१-११ , समय : ०७:४७:४२ , १ वर्ष अगाडि