रेडियो गौशाला , १५१२ पटक हेरिएको

ललन मण्डल, गौशाला । डिभिजन बन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) बस्ने १७ वर्षीय रुपेश महतोको सर्पदंशका कारण मृत्यु भएको छ।
महतोलाई राती करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो। तत्काल उनलाई बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्याइए पनि उपचारकै क्रममा बिहान ५:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

रुपेशलाई अस्पतालमा बिहान ४:४७ बजे भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।
मृतक महतो डिभिजन बन कार्यालय अन्तर्गत साझेदार बन उपभोक्ता समूह – लक्ष्मिनियामा कार्यरत थिए। करिब एक वर्षदेखि उनले सोही बनमा भान्से (खाना पकाउने) का रूपमा सेवा दिइरहेका थिए। उनका बुबा राजकुमार महतो र आमा सुदिना देवी महतो रहेका छन्। सुदिना देवी महतो पनि सोही बनमा करार सेवामा कार्यरत रहेको डिभिजन बन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले जानकारी दिए।
“बस्ने न ठाउँ, सुत्ने न सुरक्षा” – परिवारको गुनासो
मृतकका परिवारजनले डिभिजन बन कार्यालयकै गम्भीर लापरबाहीले रुपेशको मृत्यु भएको दाबी गरेका छन्। “सुत्ने कोठा असुरक्षित थियो, कोठाभित्र सरसफाइको व्यवस्था थिएन, झ्याल ढोका खुलेको, घाँसपात र झाडी आसपास उस्तै,” परिवारको भनाइ छ।
सर्प प्रवेश गर्न नदिने किसिमको संरचना नहुनु, झिँगटी वा सुरक्षात्मक उपाय नगर्नु, तथा राति ड्युटीमा रहेका कर्मचारीको सुरक्षाप्रति कार्यालयको उदासीनता देखिएको परिवारजनको आरोप छ। साथै, डिभिजन बन कार्यालयले करारमा कार्यरत कर्मचारीहरूलाई न त पर्याप्त सुत्ने सुविधा दिएको छ, न त आकस्मिक स्वास्थ्य संकटका लागि कुनै तयारी राखेको, भन्ने गम्भीर आरोप पनि उनीहरूले लगाएका छन्।
कम उमेरका मजदुर, जोखिममा जीवन
सार्वजनिक सेवामा कम उमेरका किशोरलाई जोखिमपूर्ण स्थानमा काम लगाउनु आफैँमा आपत्तिजनक रहेको भन्दै स्थानीय समुदाय र मानव अधिकारकर्मीहरूले समेत चिन्ता व्यक्त गरेका छन्। करिब १७ वर्षीय किशोरलाई बनजस्तो जोखिमयुक्त क्षेत्रमा रातको समयमा काम लगाइनु र पर्याप्त सुरक्षा नहुनु राज्यको चरम लापरबाही भएको समाजसेवी राकेस सिहको भनाइ छ।
बन कार्यालय मौन, छानबिनको माग
घटनापछि डिभिजन बन कार्यालयले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। तर, मृतकका परिवारजन, स्थानीय नागरिक र सरोकारवालाहरूले घटनाको गम्भीर छानबिन गरी दोषी उपर कारबाही गर्न माग गरेका छन्। साथै, करार सेवामा कार्यरत कर्मचारीको सुरक्षाको ग्यारेन्टीसहित भविष्यमा यस्ता दुर्घटना नदोहोरिन आवश्यक प्रबन्ध गर्न मागसमेत गरिएको छ।
प्रकाशित मिति: २०२५-०६-०५ , समय : १२:०३:२९ , १ दिन अगाडि