रेडियो गौशाला , ९६६ पटक हेरिएको

रौतहट । सडक निर्माणको गुणस्तरबारे समाचार संकलन गर्न गएका पत्रकार राजकुमार यादवमाथि भएको कुटपिटले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ । घटनामा प्रतिनिधिसभा सदस्य प्रभु साहका छोरा विवेक साहको नाम जोडिएपछि विषयले राजनीतिक रूप लिएको छ।
मौलापुर नगरपालिका–५ स्थित आइटी चौकमा बिहीबार दिउँसो सडक कालोपत्रेसम्बन्धी विवाद चर्कँदा पत्रकार यादव स्थलगत जानकारी संकलन गर्न पुगेका थिए । त्यही क्रममा केही स्थानीयले उनलाई घेराबन्दी गरी आक्रमण गरेका थिए ।
पीडित यादवका अनुसार विवेक साह, राजेश साह र अञ्जित साहसहितको समूहले आफूलाई सार्वजनिक रूपमा कुटपिट गरेका हुन् । उनले प्रहरीको उपस्थितिमा आक्रमण भएको दाबी गर्दै सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

घटनामा घाइते पत्रकार यादवको उपचार गौरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । उनले समाचार संकलनकै क्रममा लक्षित आक्रमण भएको बताएका छन्।
सांसद प्रभु साहका छोरा विवेक साहले भने आफू निर्दोष रहेको भन्दै दुई समूहबीच विवाद भइरहेका बेला मात्र घटनास्थल पुगेको र यादवमाथि आक्रमणमा आफू संलग्न नभएको दाबी गरेका छन्।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले विज्ञप्ति जारी गर्दै घटनाको कडा भत्र्सना गरेको छ र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। महासंघले यो घटनालाई प्रेस स्वतन्त्रतामाथिको योजनाबद्ध हमला भन्दै सरकारको मौनता प्रति आपत्ति जनाएको छ।
स्थानीय सञ्चारकर्मी, मानव अधिकारकर्मी र नागरिक समाजले पनि गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास भए प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हुने चेतावनी दिएका छन् ।
प्रकाशित मिति: २०२५-०७-२५ , समय : ०७:२३:३६ , १ दिन अगाडि