रेडियो गौशाला , २०२२ पटक हेरिएको
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको पकड भएको भनिएका वडाहरुबाट उल्लेख्य मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र एमालेका डा. राजन भट्टराई मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा काठमाडौं महानगरका चारवडा (१, ७, ८ र ३०) सहित बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडाहरु पर्दछन् ।
स्थानीय तहको मतको आधारमा राजनका लागि बुढानीलकण्ठका वडाहरु अनुकूल थियो । बुढानीलकण्ठको प्रमुखसहित सबै वडाका अध्यक्षमा एमाले विजयी भएको थियो । तर त्यही क्षेत्रबाट थापाले धेरै मत पाएका छन् ।
मतगणनाको प्रारम्भदेखि नै कांग्रेस उम्मेदवार थापाले अग्रता लिएका १, २, ८, ९, १०, ११, १२ र १३ सहित काठमाडौं महानगरका १ र ७ वडा नम्बरको गणना सकिँदा त्यसलाई कायमै राखेका छन् ।
पछिल्लो अपडेटअनुसार थापाले ५ हजार ५६८ को अग्रता लिएका छन् । उनले १७ हजार ५१६ मत पाउँदा राजनले ११ हजार ९४८ मत पाएका छन् ।
अब काठमाडौं महानगरका ८ र ३० नम्बर वडाको मत गन्न बाँकी छ । यी दुवै वडामा कांग्रेस बलियो छ । स्थानीय निर्वाचनमा दुवै वडाको वडाध्यक्ष कांग्रेसले जितेको थियो । महानगरको वडा नम्बर ८ मा ३ हजार ६१७ मत खसेको छ भने अर्को वडा ३० मा ४ हजार ८७१ मत खसेको छ ।
सबै वडामा गगनको अग्रता
गणना सकिएका १० वटै वडामा थापाले अग्रता निरन्तर कायम राखे ।
काठमाडौं ४ मा मत गणनाको सुरुवात बुढानीलकण्ठको १ नम्बर वडाबाट गरिएको थियो । कांग्रेसभित्र यो वडामा पछि परिन्छ कि भन्ने आशंका थियो । किनकी स्थानीय निर्वाचनमा यो वडामा एमालेले ८४५ मतका साथ वडाध्यक्ष जितेको थियो । कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ४७२ मत पाएका थिए ।
तर यही वडामा थापाले अग्रता लिए । कूल खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए । अर्थात थापाले प्रारम्भमै ३४ मतको अग्रता लिए ।
बुढानीलकण्ठ–२ को मतगणना सकिँदा थापाले अग्रता झनै बढाए । यो वडामा कूल खसेको २७०५ मतमा थापाको पक्षमा १३५८ र भट्टराईको पक्षमा ९४७ मत खसेको थियो । यहाँ दुई उम्मेदवारको मतान्तर ४११ रह्यो । गत स्थानीय तह निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारले ७७ मत अन्तरले कांग्रेसलाई यहाँ हराएका थिए ।
बुढानीलकण्ठ–८ मा थापाले मतान्तर झनै बढाए । ३३५५ खसेको मतमा थापाले यस वडामा १४६४ ल्याउँदा भट्टराईलाई ११३१ मत खस्यो । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार यस वडामा ४५४ मतले पछि परेर पराजित भएका थिए । बुढानीलकण्ठ १, २ र ८ को गणना सकिँदा ७७५ को मतान्तर कायम थियो ।
बुढानीलकण्ठकै वडा नम्बर ९ मा एमालेको पक्षमा गएको गत स्थानीय तहको मतलाई थापाले आफ्नो पक्षमा बहुमत ल्याए । यस वडामा थापाले पक्षमा १२३६ मत ल्याउँदा भट्टराईले ७७६ मत पाए ।
वडा नम्बर १० मा पनि थापा नै अघि देखिए । यस वडामा कांग्रेस स्थानीय तहमा ठूलो मतान्तरले पराजित भएको थियो । कांग्रेसका वडाध्यक्ष १२७० मतले हारेको वडामा थापाले ३१७ मत अन्तरले भट्टराईलाई पछि पारे ।
बुढानीलकण्ठका १, २, ८, ९, १२ र १३ वडाको मतगणना सकिँदा थापा ११ हजार ९८६ मतसहित अगाडि रहे । भट्टराईको मत भने ९ हजार २७६ मत पुग्यो ।
काठमाडौं महानगरका वडामा आइपुग्दा कांग्रेस उम्मेदवार थापाले मतान्तर बढाएका छन् । अहिले महानगरको वडा नम्बर ८ मा गणना जारी छ र दुई उम्मेदवारको मतान्तर ५ हजार ६६८ पुगेको छ । स्रोत : अनलाइनखबर
प्रकाशित मिति: २०२२-११-२२ , समय : ०८:४४:०१ , २ वर्ष अगाडि