पर्सामा कांग्रेसका ५ उम्मेदवार विजयी

रेडियो गौशाला , ११४०  पटक हेरिएको

वीरगन्ज- पर्सामा प्रतिनिधि सभाका २ र प्रदेश सभाका ३ प्रदेश सभा सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । जसपाले १ प्रतिनिधि सभा सदस्य र २ प्रदेशसभा सदस्य जितेको छ । त्यस्तै नेकपा एमालेले १ प्रतिनिधि सभा सदस्य जितेको छ ।

नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र स्वतन्त्र उम्मेदवारले १/१ प्रदेशसभा सदस्य मात्र जितेका छन् ।

पर्सा २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका अजय चौरसिया निर्वाचित भएका छन् । जसपाका सुरेन्द्र कुर्मीभन्दा ६ हजार ६ बढि मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् ।

पर्सा ४ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसकै रमेश रिजाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँलाई ५ हजार ५ सय ३० मतको अन्तरले पराजित गर्दै रिजाल निर्वाचित भएका हुन् । रिजालले ३१ हजार १४२ मतका मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी मियाँले भने २५ हजार ६ सय १२ मत मात्रै पाएका छन् ।

पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा भने नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका हुन् । गुप्ताले २४ हजार २६० मत ल्याउँदा चौधरीले २४ हजार १०९ मत पाएका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा भने जसपाका प्रदीप यादव निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत पाएका छन् ।

कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यादव र द्विवेदीबीच मतान्तर १ हजार ६२० छ । यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ ।

प्रदेशसभा सदस्यमा कांग्रेसका ३, जसपाका २, लोसपा , माओवादी र स्वतन्त्रका १/१ विजयी

प्रदेशसभा सदस्य तर्फ कांग्रेसका चार मध्ये तीन जना उम्मेदवार जित हात पार्न सफल भएका छन् ।

पर्सा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । अन्सारी ७ हजार ८१७ मतका प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवलले ५ हजार ६१८ मत पाएका छन् । अन्सारी र यादवबीचको मतान्तर १ हजार १९९ छ ।

पर्सा क्षेत्र नम्बर १ (ख) मा मुख्यमन्त्री समेत रहेका जसपा उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धी पुन: निर्वाचित भएका छन् । राउत ७ हजार ५ सय ४५ मतका साथ पुन: प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राम नारायण कुर्मीले ६ हजार ४ सय १२ मत मात्रै पाए । राउत र कुर्मीबीचको मतान्तर १ हजार १३३ छ ।

पर्सा क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्यमा कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी जसपाका रामनरेश प्रसाद यादवलाई १ हजार ६५७ मत अन्तरले पछि पार्दै पटेल विजयी भएका हुन् । पटेलले १३ हजार ७८४ मत पाएका हुन् । जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादवले भने १२ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

पर्सा क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा सदस्यमा लोसपाका रमेश कुर्मी पुन निर्वाचित भएका छन् ।

कुर्मी ९ हजार ४ सय ७१ मतका साथ प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत पाएका छन् । कुर्मी र सिंहबीचको मतान्तर २ हजार ६ सय ३७ रहेको छ । २०७४ को निर्वाचनमा सिंह , पर्सा २ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बनेका कुर्मी ९ हजार ७ सय ६ मतका साथ विजयी भएका थिए ।

पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी भएका छनन् । जयसवाल ७ हजार ३ सय ८१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले-जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए ।

जयसवाल र अन्सारीबीचको मतान्तर १ हजार ४ सय ५१ छ ।अन्सारी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा कांग्रेसका जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् । कांग्रेसका जिल्ला सभापति समेत रहेका सिंह २ हजार ६ सय भन्दा बढि मतान्तरले विजयी भएका हुन् ।

सिंह १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी जसपाकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतको अन्तरले पराजित गर्दै सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सिंह १० हजार १ सय ७२ .मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी डा. गुप्ताले ७ हजार ४ सय ९६ मत पाएकी छन् ।

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका शंकर चौधरी पुन निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका जयप्रकाश थारुलाई २ हजार ३४ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

चौधरीले ११ हजार ५ सय ८५ मत पाएका हुन् । एमालेका थारुले भने ९ हजार ५ सय ५१ मत मात्रै पाएका छन् ।पराजित थारु , एमालेका जिल्ला अध्यक्ष हुन् ।चौधरी , २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए ।

पर्सा क्षेत्र नम्बर ४ (ख) मा जसपाका उम्मेदवार सिंहासन सा कलवार पुन निर्वाचित भएका छन् ।२०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट प्रदेशसभा निर्वाचित कलवार दोहोरिएर निर्वाचित भएका हुन् ।कलवार १५ हजार ३ सय ८५ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु १२ हजार ६ सय ४१ मत पाएका छन् । कलवार र कानु बिचको मतान्तर २ हजार ७ सय ४४ रहेको छ । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जितेका कलवारले ११ हजार ७ सय ८ मत पाएका थिए ।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:१७:१४ , १ वर्ष अगाडि