राजेन्द्र महतोलाई हराउँदै महिन्द्र तेस्रोपटक विजयी

रेडियो गौशाला , ११५५  पटक हेरिएको

सर्लाही — सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै यस क्षेत्रबाट लागातार तेस्रोपटक विजयी भएका हुन् ।

प्रतिनिधिसभामा महतोविरुद्ध भने यादवको यो दोस्रो जित हो । सत्ता गठबन्धनतर्फको आधिकारिक उम्मेदवार यादवले गठबन्धनकै अर्को दल लोसपाका उम्मेदवार महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन् ।

यादव र महतो दुवै गठबन्धनमै भए पनि मित्रवत प्रतिस्पर्धामा उत्रेका थिए । क्षेत्र नं २ को सदरमुकाम मलंगवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन् । यहाँ जसपा– एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाए ।

यादव यसअघि २०७० को निर्वाचनमा पनि महतोलाई पराजित गर्दै २ हजार ५ सय मतान्तरले विजयी भएका थिए ।

प्रकाशित मिति: २०२२-११-२६ , समय : १९:३८:२४ , २ वर्ष अगाडि