रेडियो गौशाला , ८३६ पटक हेरिएको
बर्दिबास- महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले चुनावी अभियानको दौरान घरदैलोमा गरेका प्रतिबद्धताहरू पूरा गर्नेतर्फ अग्रसर भएका छन्।
चुनाव जितेको दुईदिन नबित्दै उनले बर्दिबास नगरपालिका-३ स्थित राजावासमा मन्दिर र पर्साहीधापमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन्।
स्थानीयको माग अनुसार मन्दिर र स्वास्थ्य चौकीको एकैसाथ शिलान्यास गरेको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महतोले बताए। नेकपा एमालेबाट चुनाव जितेका उनले बर्दिबास नगरपालिका-३ स्थित दुर्गम क्षेत्रमा पर्ने पर्साहीधापमा मत माग्ने क्रममा स्वास्थ्य चौकी बनाइदिने प्रतिबद्धता जनाएका थिए।
‘घरदैलोका क्रममा यहाँ आएको थिएँ। त्यसक्रममा स्थानीयले स्वास्थ्य चौकीका विषयमा समस्या र गुनासोहरू सुनाए। त्यही बेला मैले प्रतिबद्धता जनाएको थिएँ,’ शिलान्यासपश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले भने ‘म बोलेको कुरा जसरी पनि पूरा गर्छु। जिते लगत्तै शिलान्यास गरेको छु। ढुक्क हुनुस्, चाँडै भवन पनि तयार हुन्छ।’
महतो दलबलसहित आफ्नै गाडीमा ईंटा बोकेर शिलान्यास गर्न चुरे गाउँ पर्साहीधाप पुगेका थिए। स्वास्थ्य चौकी शिलान्यासपछि स्थानीयले खुशी व्यक्त गरे।
सुरुवातमै स्थानीय समस्यालाई सम्बोधन गर्ने नेताको प्रयासले आफूहरूमा आशा पलाएको स्थानीय दलबहादुर लामाले बताए। ‘भोट माग्न आउँदा बनाइदिन्छु भन्नु र जित्ने बितिक्कै शिलान्यास गर्नु आफैमा एउटा खुशीको कुरो हो। विकासको काम अघि बढ्छ भन्ने एउटा यो गतिलो उदाहरण हो,’ खुशी हुँदै लामाले भने।
महतो महोत्तरी क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धाका माझ प्रतिनिधिसभा सदस्यमा विजयी हाँसिल गरेको छन्। चौथौ पटकको जितका लागि चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनका साँझा उम्मेदवार पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई १ हजार ३० मतको मतान्तरले पराजित गरे।
आइतबार सार्वजानिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले-जसपा गठबन्धनका महतोले २३ हजार ४ सय २ मत प्राप्त गरेर जिते भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेल २२ हजार ३७२ मत ल्याएर पराजित भए।
प्रकाशित मिति: २०२२-११-२९ , समय : ०७:३०:०७ , २ वर्ष अगाडि