उम्मेदवारलाई अपेक्षित भोँट नपरेको भन्दै साथीबाटै युवकको हत्या, दुई जना पक्राउ

रेडियो गौशाला , ९१७  पटक हेरिएको

सिरहा- सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका –१ नरगी गाउँका एक युवकको हत्या गरी दुर्घटनाको रुप दिइएको खुलेको छ।

नरगी गाउँका ३२ बर्षिय रामशंकर यादवको हत्या गरी दुर्घटनाको रुप दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शुक्रबार राती करिब ११ बजे रामशंकरको हत्या गरी नरगी कुसण्डी सडकमा फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। सो राती उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै रामशंकरकै साथी सोही गाउँका अन्दाजी ४० बर्षिय दिपेन्द्र यादवले प्रहरीलाई फोन गरेको स्थानीयले बताए।

सो राती मृतकको शव हत्तार हत्तार उठाएर पोष्टमार्टमका लागि लगिएपछि शंका लागेर स्थानीयले मृत्युको कारण खोतल्न थाले। र, रामशंकरको हत्या भएको सुराक पाएपछि आफन्तले अनुसन्धानका लागि प्रहरीलाई जानकारी साझा गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा दिपेन्द्र यादव, डम्बर यादव र अजय साहलाई नियन्त्रणमा लिएको छ। उनीहरुबाट रामशंकरको हत्याको सुराक फेला परेको प्रहरी स्रोतले जनायो। हत्याको घटनालाई पचाउन संलग्नहरुले दुर्घटनाको रंग दिन खोजेको थियो।

सिरहा प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीका अनुसार मृतकका आफन्तबाट कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ। सोमबार सोही मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने डिएसपी बुढाथोकीले बताए। शव विस्तृत पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए।

यसरी भयो हत्या  

रामशंकर नेपाली कांग्रेसका स्थानीय नेता हुन्। यस क्षेत्रमा उनको परिचय युवा नेताको रुपमा छ। माओवादीमा संलग्न दिपेन्द्र, डम्बर र अजयसँग फरक दलमा संलग्न रामशंकरको सम्बन्ध राम्रै थियो । संगै खानपिन गर्ने, घुमफिर गर्ने गर्थे उनीहरु। फरक दलका भएपनि आइतबार सम्पन्न आम निर्वाचनमा उनीहरु गठबन्धनका कारण एउटै मोर्चामा थिए। भोट माग्नेदेखि भोट खसाल्दासम्म उनीहरु संगसंगै थिए। मतदानसम्म राम्रै सम्बन्ध भएका उनीहरुको मतपरिणाम सार्वजनिक भएपछि सम्बन्ध चिसिएको स्थानीय बताउँछन्।

सिरहा क्षेत्र नम्बर २ मा पर्ने यस गाउँबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रसकी चित्रलेखा यादवलाई अपेक्षित मत नपरेको विषयमा उनीहरुबीच विवाद भएको स्थानीय बताउँछन्।

शुक्रबार राती दिपेन्द्रले नै रामशंकरलाई फोन गरेर बोलाएको उनका भाई सुरेश यादवले बताए। फोन गरेर बोलाएपछि उनी मोटरसाइकल लिएर नरगी चोकतिर गएका थिए सुरेशले भने,‘मोटरसाइकलमा बसेर दिपेन्द्रले दाइलाई नरगीको सीमामा रहेको मदिरा पसलमा लगेका थिए।’ मदिरा पसलमा दिपेन्द्र, अजय र डम्बरसहितका व्यक्तिले दाईको हत्या गरेको सुरेशको आरोप छ।

मदिरा पसलमै मारेर उत्तरमा रहेको दिपेन्द्रको निर्मानाधिन घरमा ल्याएर राखेको र त्यहाँबाट सडकमा फालेर दुर्घटनामा मृत्यु भएको भनि प्रहरीलाई खबर गरेको सुरेशले बताए। दिपेन्द्रको निर्मानाधिन घरमा रामशंकरको रगतले लतपत मोफलर फेला परेको उनले बताए। उनको घरको कोठादेखि आँगनसम्म रगतका छिटाहरु प्रहरीले फेला पारेको छ। आँगनमा बगेको रगतको संकेत गोबर र माटोले लिपेर मेट्न खोजीएको देखिन्छ,अनुसन्धानमा खटिएको एक प्रहरीले भने,‘क्राइम सिन’बाट कर्तब्य गरी मारेको आधार भेटिएको छ। यसलाई थप पुष्टि गर्ने आधार र प्रमाण जुटाउँदै छौं, उनले भने।’

अनुसन्धानकै क्रममा हत्याको घटनामा बरियारपट्टी १ बडहरीका ४८ वर्षीय दिपु भनिने दीपेन्द्रकुमार यादव र ४२ वर्षीय अजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवम प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान शीर्षकमा जाहेरीसमेत परेकाले थप अनुसन्धान थालिएको छ।

९ मंसिरको राति करिब ११ बजेतिर हत्यापछि गाउँदेखि दक्षिण नरगी कुर्सन्डी सडक किनारमा रामशंकरको शव फेला परेको थियो। त्यही राति उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै पक्राउ परेका दीपेन्द्रले प्रहरीलाई फोन गरेको आधारमा गाउँलेहरूले हत्या भएको आशंका गरेका थिए।

हत्या गरी मोटरसाइकल दुर्घटनाजस्तो देखाउन खोजिएको भए पनि स्थानीयको सूचनाको आधारमा प्रहरीले मृतक परिवारबाट जाहेरी परेपछि दुईजनालाई पक्राउ जनाएको छ।

प्रकाशित मिति: २०२२-११-३० , समय : ०७:०९:१२ , २ वर्ष अगाडि