रेडियो गौशाला , ८५३ पटक हेरिएको
दोलखाका १० वटा निर्वाचन केन्द्रमा आज पुनः मतदान भइरहेको छ । आज जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुस्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ’क’, ’ख’ र ’ग’, वैतेश्वर गाउँपालिकाकै वडा नम्बर २ स्थित जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र ’क’ र ’ख’ तथा तामाकोशी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ’क’ र ’ख’ गरी ७ (सात) वटा केन्द्रमा मतदान भइरहेको छ । त्यस्तै, वैतेश्वर गाउँपालिका वडा नम्बर ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ’क’, ’ख’ र ’ग’ मा १ सय मतपत्रको अर्धकट्टी हराएपछि आज पुनः मतदान भइरहेको हो ।साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पर्याप्त परिचालन गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले सीआईएनसँग बताउनुभयो । मङ्सिर ४ गते भएको मतदान निष्पक्ष नभएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेको थियो ।
प्रकाशित मिति: २०२२-१२-०१ , समय : १३:१९:०४ , २ वर्ष अगाडि