हाम्रो क्षेत्रलाई विराट किल्ला बनाउन लाग्छु : लक्ष्मी महतो

रेडियो गौशाला , १४९१  पटक हेरिएको

बर्दिबास- महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले आफ्नो क्षेत्रलाई विराट किल्ला बनाउने बताएका छन् ।

जनताले विगतदेखि माओवादीले जित्दै आएको क्षेत्रलाई यसपाली भत्काइदिएको बताउँदै उनले अब यो क्षेत्रलाई विराट किल्ला बनाउने बताएका हुन् ।

‘यो किल्ला त्यतिकै बन्दैन । विराट किल्लामा शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका पूर्वाधार निर्माणको राम्रो प्रबन्ध हुन्छ । त्यो सबै हामी पूरा गरेर विराट किल्ला बनाउँछौं,’ एमालेबाट निर्वाचित महतोले भने ।

जनताको मायाले एमाले उदाएको भन्दै उनले स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरु हामी सबै मिलेर विराट किल्लाको फर्मुला ल्याएर विकास गर्ने प्रतिबद्धता जनाए ।

‘कामभन्दा अघि केही बोल्दिन। काम हामी गर्छौं । तपाइँहरू हेर्दै जानुहोला । हामीलाई खबरदारी गरिदिनुहोला,’ सञ्चारकर्मीसँग कुराकानीमा उनले भने, ‘मलाई विश्वास गर्नुभएकोमा धन्यवाद । तपाइँहरूको विश्वास र भरोसालाई कहिल्यै टुट्न दिनेछैन।’

प्रकाशित मिति: २०२२-१२-०४ , समय : ०७:३५:४८ , १ वर्ष अगाडि