पत्रकार झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको माँग गर्दै प्रहरीमा उजुरी

रेडियो गौशाला , ५१५  पटक हेरिएको

सप्तरी- राजविराज नगरपालिकामा दैनिक ज्यालादारी कर्मचारी न्युक्ति विषयमा समाचार लेखेकै कारण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिकका सप्तरी सम्वाददाता अवधेश कुमार झालाई सामाजिक सञ्जालमार्फत धम्की दिइएको छ ।

धम्की दिने व्यक्तिलाई कारबाहीको मागका लागि प्रहरीमा नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार उजुरी दिएको छ । महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको हो ।

पत्रकार झालाई समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक सञ्जालमा खुलेयाम ज्यान मार्ने खालको तस्बिर कोरेर त्रसित पारेका थिए ।

पत्रकार झाले मंसिर १७ गते कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेखेका थिए ।

नसरुल राजा र मो सजाद नामको फेसबुक आइडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि पत्रकार झा त्रसित भएका छन् ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : ०८:०९:३७ , १ वर्ष अगाडि