मानव अधिकार रक्षाको दायित्व पूरा गरौँ : गृह तथा सञ्चारमन्त्री साह

रेडियो गौशाला , ७११  पटक हेरिएको

जनकपुरधाम- मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मानव अधिकारको रक्षाका लागि सबै पक्षले आ–आफ्नो कर्तव्य एवं दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुुरधामले आज आयोजना गरेको कार्यक्रममा उहाँले मानव अधिकारको सवालमा मधेस प्रदेश सरकार गम्भीर एवं सजग भएको बताउनुभयो । मन्त्री साहले मानव अधिकारको मूलभूत मान्यता तथा सिद्धान्तको पालना गर्न सबै पक्षसँग प्रदेश सरकार हातेमालो गरी अघि बढ्न चाहेको बताउनुभयो ।

‘सबैको लागि मर्यादा, स्वतन्त्रता र न्याय’ सम्बन्धी मूल नारासहित आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका मन्त्री साहले सत्यनिरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कतिको कार्यान्वयन भयो वा भएन त्यसको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

नवनिर्वाचित प्रदेशसभाका सदस्य शारदादेवी थापाले मानव अधिकारको स्थापनाका लागि अधिकारसँगै कर्तव्यको ख्याल गर्न जरुरी रहेको बताउनुभयो । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित प्रदेशसभाका सदस्य रामअशिष यादवले मानव अधिकारको रक्षाका लागि मानव अधिकार रक्षाको अग्रपङ्क्ति रहने मानव अधिकारकर्मी तथा पत्रकारहरूको सुरक्षा आवश्यक भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले मानव अधिकारको रक्षाबिना मुलुकको विकास तथा समृद्धि एवं जनचाहना पूरा गर्न कठिन हुने बताउँदै जनकपुरधाम उपमहानगरपालिकालाई मानव अधिकारमैत्री नगर बनाउने पक्षमा आफू रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख मञ्जु खतिवडाले मुलुकको समृद्धि र विकासका लागि मानव अधिकारको अवस्था राम्रो हुन जरुरी रहेको बताउनुभयो । उहाँले कुनै समाज र देशको मानव अधिकारको अवस्था हेरेर त्यहाँको शान्ति र सुशासनको मूल्याङ्कन गरिने बताउनुभयो ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ०७:१९:५१ , १ वर्ष अगाडि