भाइटिका – किन लगाइन्छ सप्तरंगी टिका? यस्तो छ महत्व

रेडियो गौशाला , १८४२  पटक हेरिएको

गौशाला- देशभर तिहारको रौनक छ । कोरोना भाइरसकाबीचमा पनि सावधानी अपनाएर घरघरमा मानिसहरु रमाइलो गरिरहेका छन् । भोली भाइटिका । चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टिका लगाइदिएर भाइटिका मनाउँने तयारी गरिरहेका छन् ।

नेपालीहरुको महान चाडमध्ये भाइटिका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन्।

उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।

सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अविर, केशरीको टिका लगाउने हिन्दू संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टिका लगाउन भन्छ ।

त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।

यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दैभाइटिका लगाइदिएकी थिइन् ।उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि,तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन् ।

यसरी भाइटिका लगाइदिने परम्पराको शुरुवात भयो । तर, समयसँगै भाइटिकामा सप्तरङ्गी टिका लगाइदिने चलनको विकास हुँदै गयो । सातैवटा रङ्गका टिका किन भनेर संस्कृतिविद् डा.देवमणी भट्टराईलाई प्रश्न गर्दा उनले उत्तर दिए ‘यी सातैवटा रङ्गले तिहारसँग सम्बन्धित अरु तत्त्वलाई प्रतिबिम्बित गर्छन् ।

जस्तै जेजसलाई हामी तिहारमा पूजा गर्छौं, जस्तै, पहिलो दिन काग, त्यसपछि कुकुर, अनि क्रमश गाई, लक्ष्मी, गोबरधन पर्वत र यमराज ।’ टिकाकै प्रसङ्गमा उनले दक्षिणा तथा उपहारको विषयलाई पनि जोडे । ‘आजकल टिकालाई भन्दा पनि दक्षिणा र उपहारलाई प्राथमिकता दिने चलन छ ।

खासमा, माइतीले चेलीलाई आफ्नो हैसियत अनुसारको दक्षिणा वा उपहार दिने र चेलीले मीठामीठा परिकार बनाएर ख्वाउने मात्रहो । चेलीले अनावश्यक उपहार दिनुपर्दैन ।’ त्यस्तै, मखमली माला र दुबो कहिल्यै नओइल्याउने भएकाले र तेल कहिल्यै नसुक्ने भएकाले यी तीन तत्त्वको प्रयोगले आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्दछ।

दाजुभाइलाई टिका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ । डा. देवमणी भट्टराईले भने ‘यही हो हाम्रो संस्कृतिको विशेषता, यहाँ हरेक पक्षले छुट्टै बिम्बात्मक अभिव्यक्ति दिन्छन् ।’

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १८:४०:११ , २ वर्ष अगाडि