रेडियो गौशाला , ४१२६४ पटक हेरिएको
बर्दिबास । आसन्न बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वकोलागि मैदानमा उत्रिएका उम्मेदवारहरुबाट घोषणापत्र सार्वजनिक हुने क्रम जारी छ। बुधबार पत्रकार सम्मेलन गरी बर्दिबास उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद गौतम नेतृत्वको प्यानलले आफ्नो संकल्पपत्र सार्वजनिक गरेको छ। संकल्पपत्र सार्वजनिक गर्दै गौतमले व्यवसायीहरुको लागि ११ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष खडा गरिने बताउनु भयो ।
भवितव्य प्राकृतिक तथा मानवजन्य विपदलाइ तत्काल सम्बोधन गर्न कोषबाट राहत प्रदान गरिने गौतमले जनाउनु भयो ।
त्यसैगरी व्यापारीहरुको सेवा सुबिधालाई सर्वसुलभ बनाउन घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र बर्दिबासमा स्थापना गर्न सरकारसङ्ग पहल गरिने, व्यापार व्यवसायमा देखिएको कर प्रणाली, चर्को ब्याजदरलगायतका समस्याबाट निकास दिन महासंघ, सेवा प्रदायक वित्तीय तथा अन्य संघसंस्थाहरुसङ्ग समन्वय, सहकार्य गर्दै दबाबमुलक कार्यक्रम अघि बढाइने बताइएको छ।
संकल्पपत्रमा संघमा आवद्ध व्यापारीहरुको उपचारमा बर्दिबासमा संचालित निजी अस्पतालहरुमा २० प्रतिशत छुटको व्यवस्था गरिने, सिसीटिभी क्यामेरा मर्मत, जडान गरी सुरक्षा व्यवस्था चुस्त बनाउन पहल गरिने, फोहरमैला व्यवस्थापन, जेब्रा क्रसिङ्ग, बजार सौन्दर्यीकरण गर्न सम्बद्ध निकायसँग पहल गरिने, घरभाडा समस्यालाई वैज्ञानिक ढङ्गले हल गरिने, व्यापारी व्यवसायीको क्षमता अभिवृद्धिको लागि तालिम, सेमिनार, भ्रमण जस्ता कार्यक्रम ल्याइने उल्लेख छ। साथै पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष फुड फेस्टिवलको आयोजन गरिने जनाइएको छ।
कार्यक्रममा बोल्दै गौतम प्यानलबाट सदस्यको लागि उम्मेदवारी दिएका सन्तोषमणी घिमिरेले बर्दिबास उद्योग वाणिज्य संघको पहलमा मालपोत कार्यालय, नापी कार्यालय ल्याइएको दाबी गर्नु भयो ।
त्यसैगरी उषा ढकालले गौतम प्यानल महिलामैत्री रहेको दाबी गर्दै सम्पुर्ण महिला व्यवसायीको तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
वाणिज्य संघको निर्वाचनमा ढकाल एकमात्र महिला उम्मेदवार हुनुहुन्छ।
संस्थापन पक्षको उम्मेदवारहरुमा ३ जना बाहेक सबै नयाँ अनुहार छन। गौतम र दिपक कुमार कार्की हालको कार्यसमितिमा हुनुहुन्छ भने सन्तोषमणी घिमिरे २०७० सालमा प्रह्लाद कुमार क्षेत्रीको प्यानलबाट पराजित हुनुभएको थियो । २०७० सालको निर्वाचनमा जय नारायण शर्माको प्यानलबाट सदस्यमा निर्वाचित विनोद भण्डारीले अहिले गौतमलाई समर्थन गर्नुभएको छ।
प्रकाशित मिति: २०२२-१२-१४ , समय : ०८:५९:१८ , २ वर्ष अगाडि