मधेशीको सूचीबाट हटे मुस्लिम र थारु

रेडियो गौशाला , ८२९  पटक हेरिएको

काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी दिए ।

मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो । सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायको तर्फबाट विरोध भएको थियो । थारु र मुस्लिम आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए ।

मधेशी आयोगकी उपसचिव सबिता डंगोलले थारु र मुस्लिमको विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिएकी छन् । सो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२२-१२-१६ , समय : ११:४०:४९ , २ वर्ष अगाडि