सप्तरीमा ५ जना युवाको मृत्युको कारण अत्यधिक जाँड–रक्सी खानु र चेतनाको कमी : मन्त्रालय

रेडियो गौशाला , ९७४  पटक हेरिएको

काठमाण्डौ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच जनाको मृत्यु उपचार नपाएर नभइ अत्यधिक जाँड–रक्सी खाएका कारण उत्पन्न समस्याले गर्दा भएको दाबी गरेको छ ।

उपचार नपाएर कञ्चनरूप गाउँपालिकाका पाँच जना व्यक्तिको ज्यान गएको भनि विभिन्न सञ्चारमाध्ययमा खबर प्रकाशन भएपछि मन्त्रालयले स्थलगत निरीक्षण गर्दा उपचार नपाएर ज्यान गएको कुरा सत्य नभइ जाँड–रक्सी खाएको र चेतनाको कमीले भएको पाइएको दाबी गरेको हो ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा वडा नम्बर ४ का सुरज सदाले अत्यधिक जाँड–रक्सी खाएको कारण विदेशबाट फिर्ता पठाएको र जाँड–रक्सीका कारण कलेजो काम नलाग्ने भएका सदाको उपचारकै क्रममा ज्यान गएको दाबी गरेको छ । यस्तै वडा नम्बर ८ का चन्दु सदा र वडा नम्बर ९ का भिखो खङ्गको पनि जाँड–रक्सीकै कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयको दाबी छ । वडा नम्बर ५ का राजदेव सदाको उपचारको क्रममा एक वर्षअघि नै काठमाण्डौमा ज्यान गएको र वडा नम्बर ५ की बबिता पासवान जन्मताज सुस्त मनस्थितिकी रहेकी र अवस्था बिग्रिएर उपचारकै क्रममा ज्यान गएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा मन्त्रालयले कञ्चनरूप नगरपालिकाले नगरप्रमुख निःशुल्क घरदैलो स्वास्थ्य शिविरलगायतका स्वास्थ्य जाँच तथा अरू स्वास्थ्य उपचारसम्बन्धी कार्यक्रम गरिरहेको दाबी पनि गरेको छ ।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०७:२८:४३ , २ वर्ष अगाडि