रेडियो गौशाला , ८८७ पटक हेरिएको
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिन भित्रमा सरकार गठनका लागि आह्वान गरेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । नेताहरू पार्टी भित्र र बाहिर औपचारिक अनि अनौपचारिक छलफलमा जुटेका छन् ।
हिजो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले भने सरकार निर्माण, संसदीय दलको नेता छनोटलगायतका बारेमा आज निर्णय गर्ने भएको छ । नयाँ सरकारको नेतृत्वको बारेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दावी गरेपछि भने गठबन्धन निरन्तर रहन्छ वा भत्किन्छ भन्ने बारेमा विभिन्न टिप्पणी भइरहेका छन् ।
सरकार गठनका लागि ८९ जना आफ्नै पार्टीका सांसद रहेको काँग्रेसलाई थप ५९ जना सांसदको समर्थन आवश्यक हुन्छ । यसका लागि २० सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी, १५ सिट भएको राप्रपा, १२ सिट भएको जसपा र ६ सिट भएको जनमत पार्टीको समर्थन पाउनुपर्छ । तर, यी सबै दलले यो मोर्चालाई साथ दिने निश्चित छैन । त्यसैले ५ सिट भएको लोसपा, ३ सिट भएको नागरिक उन्मुक्ति पार्टी, ४ जना स्वतन्त्र सांसदको समर्थन दुबै पक्षका लागि अर्थपूर्ण हुनेछ ।
प्रतिनिधि सभाका दुई सय ७४ जना सांसदमध्ये बहुमतका लागि कम्तिमा एक सय ३८ जनाको समर्थन चाहिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताभित्र सरकार गठनका लागि हिजो आह्वान गर्नुभएको छ ।
प्रकाशित मिति: २०२२-१२-१९ , समय : १२:११:०० , २ वर्ष अगाडि