अपराधमा मुछिएका महन्त

रेडियो गौशाला , १३०८  पटक हेरिएको

मनिका झा, जनकपुरधाम । महोत्तरीको मठिहानीस्थित लक्ष्मीनारायण मठ रामानन्दीय वैष्णव समुदायको अग्रणी धर्मस्थलका रूपमा प्रख्यात छ। यस मठका महन्तलाई ‘मान महन्त’ अर्थात् सम्प्रदायकै प्रमुख महन्तका रूपमा सम्मान गरिएको हुन्छ। मानमहन्तको पदवीमा रहने व्यक्तिलाई यो समुदायमा भगवान्सरह नै मानिन्छ। यो सम्प्रदाय अंगीकार गरेका अन्य मठमन्दिरमा महन्त नियुक्त गरिँदा मान महन्तले नै पगरी दिने परम्परा छ। तर, यस्तो सम्मानित ‘ओहोदा’मा रहेका जगन्नाथ दास पदको दुरुपयोग गर्दै किर्ते आरोपमा मुछिएर यति बेला प्रहरी हिरासतमा छन्।

यसअघि जनकपुरधामस्थित रत्नसागर मठका तत्कालीन महन्त वैकुण्ठ दास, तुलसी स्मारकका पुजारी शिवशंकर दासलाई पनि विभिन्न अभियोग लागेको थियो । जो फरार छन्। लक्ष्मीनारायण मठका मानमहन्त दासलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। एक बैंकको रूपन्देही जिल्लास्थित शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा उनलाई मठबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

  • लक्ष्मीनारायण मठका मानमहन्त जगन्नाथ दास किर्ते आरोप लागी अनुसन्धानका लागि प्रहरी हिरासतमा
  •  रत्नसागर मठका तत्कालीन महन्त वैकुण्ठ दास व्यक्ति हत्या आरोपसहित जग्गा किर्ते र जालसाजीजस्ता मुद्दा लागी फरार
  •  तुलसी स्मारकका पुजारी शिवशंकर दास बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपपछि फरार

दासलाई ७० लाख मौज्दात रहेको बैंक खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी सो रकम झिकेको आरोप लागेको छ। सरकारी हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ गरिएका महन्तलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरी प्रहरीले जनाएको छ।

उनले रुपन्देहीमा रहेको मटिहानी स्थानको रामजानकी कुट्टीको करोडौं मूल्य पर्ने जग्गा बिक्री गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। दासले रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कठ्ठा ५ धुर जग्गा वैशाख १६ गते सिद्धार्थनगरकै उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेलाई ६१ लाख रुपैयाँमा बिक्री गरेका थिए। दासले बिक्री गरेको जग्गाको चलनचल्तीको मूल्य ३ करोडभन्दा बढी छ।

अख्तियारमा उजुरी परेको अवस्थामा दासको नाममा रहेको बैंक खाता तथा अन्य सम्पत्ति रोक्का राखिएको थियो। एक बैंकको रुपन्देही सिद्धार्थ नगरस्थित शाखामा खोलिएको खाता रोक्का रहेकै बेला रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको कात्तिक ४ गते हस्ताक्षर किर्ते सहितको कागजात बैंकमा फुकुवा पत्र पठाउँदै ७० लाख १८ हजार ५ सय १० रुपैैंयाँ ३५ पैसा जनकपुरधामका श्रवण यादवको नाममा ट्रान्सफर गरिएको थियो।

सो विषयमा खोज तलास हुँदै गएपछि दासले नै सहायक प्रजिअ अर्यालको दस्तखत किर्ते गरी रकम झिकेको भनी जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइएको थियो। दासविरुद्ध रुपन्देही अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालयको अनुरोधमा जिल्ला अदालत रुपन्देहीले दासलाई थप चार दिन थुनामा राख्न मंगलबार आदेश दिएको छ।

जुन मन्दिरमा गलत क्रियाकलाप भएको छ त्यहाँ निगरानी गर्न र जहाँ पुजारी छैनन् र पूजापाठ नै बन्द भएको छ भने त्यहाँ पुजारी नियुक्त गर्नतर्फ गुठी संस्थानले ध्यान पुर्‍याउनुपर्छ। गुठीले ध्यान नदिएका कारण पनि अवस्था अराजक हुँदै गएको छ।

मन्दिरभित्र व्यावसायिक भवन बनेका छन्। मानमहन्तहरू अपराधमा मुछिएका छन्। यी सबैको कारण नियामक निकाय सक्रिय नहुनु हो। अब पनि निगरानी गरिएन भने माफियाले गुठीका जग्गा सखाप पार्न बेर लाग्दैन।

दास पहिलादेखि नै गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न थिए। गुठी संस्थानले दासको महन्त पद नै खारेज गरेको थियो। तर, उनी अदालतको आदेशबाट पुनः बहाल भएका थिए।

गुठी संस्थानको बिघौं जमिन अनधिकृत रूपमा बिक्री गरेको आरोप मान महन्त दासमाथि छ। पछिल्लो पटक उनले जनकपुरको दशरथ मन्दिर परिसरको जग्गा दुई जना चिकित्सकलाई बेचेर मन्दिर प्रांगणमै संरचना निर्माण गराउन लगाएका थिए।

मटिहानी गुठीको नाममा रहेको जनकपुरधाम ७ र ८ को बजरंग चोकभन्दा पश्चिमको जग्गा बिक्री गर्ने क्रममा दासका भतिज तत्कालीन महोत्तरी जिल्ला शिक्षा कार्यालयका अधिकृत लालकिशोर झाको हत्या भएको थियो। उक्त घटना २०६७ कात्तिक ११ गते भएको थियो। झाले मान महन्तको जग्गा किनबेचको क्रियाकलापमा अवैद्य रूपमा सहयोग पुर्‍याउँदै आएको जनाइएको छ। जग्गाकै विवादले झाको ज्यान गएको जानकार बताउँछन्।

गुठी संस्थान र मानमहन्त दासकै मिलेमतोमा मटिहानी मठकै काठमाडौंको असन तलासी मठका ५ सय रोपनी जग्गा बिक्रि भइसकेको छ। मन्दिरका ३ वटा घरसमेत लोप भइसकेका छन्।

यस्तै, जनकपुरधामस्थित रत्नसागर मठ निकै सम्पन्न थियो। २०२६ सालको सर्भे नापीले रत्नसागर गुठीको जग्गा ८० बिघा देखाएको थियो। तर, यहाँका महन्त र नापीका कर्मचारीको मिलेमतोमा मठको ५५ बिघा जग्गा अरूले नै हडपेका छन्।

यहाँका पूर्वमहन्त वैकुण्ठ दासले व्यक्ति हत्या, जग्गा किर्ते र जालसाजीजस्ता मुद्दामा सजाय पाएका छन्। उनी फरार रहे पनि रत्नसागर मन्दिरमा अप्रत्यक्ष रुपमा उनकै रजाइँ चलिरहेको सरोकारवालाको भनाइ छ। वैकुण्ठ कहाँ छन् भन्ने जानकारी प्रशासनलाई नभए पनि उनका भाइ अनिल तिवारी मन्दिरको कामकाज सम्हाल्दै आएका छन्।

भारतको विहार मुजफ्रपुर जिल्लाअन्तर्गत मधेपुरा ग्राम पञ्चायत कटराका वैकुण्ठ ‘धर्मको आडमा अपराध गर्ने मनसाय’ले नै रत्नसागर मठमा प्रवेश गरेका थिए। उनले तत्कालीन महन्त रामप्रकाश दास वैष्णवका छोरा बनेर १७ कात्तिक २०५० मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९२४७ को नागरिकता लिएका थिए। जबकि तत्कालीन महन्त रामप्रकाश आजीवन अविवाहित रहेका थिए। तत्कालीन महन्तलाई प्रभावमा पारेर पछि महन्तकै गद्दीमा पुगेका थिए वैकुण्ठ। उनले आफू महन्त बन्नेबित्तिकै मन्दिरको जग्गा बेच्ने र अकुत सम्पत्ति आर्जन गर्ने काम सुरु गरेका थिए।

रत्नसागरका पुराना महन्तको नक्कली मनखपको कागज तयारी गरी जग्गाहरू सर्वसाधारणको नाममा गराइएको बृहत्तर जनकपुर क्षेत्रअन्तर्गतका पोखरी, डिल, रामजानकीलगायत प्रमुख मन्दिरहरू तथा जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न बनाइएको उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ मा उल्लेख छ। उनी सरकारी कागजात किर्ते गरी अर्बौ मूल्यको सार्वजनिक जग्गा हड्पेको आरोपमा १९ मंसिर २०७५ मा काठमाडौं बागबजारबाट पक्राउ परेका थिए।

जनकपुरधाम उपमहानगरपालिका ८ स्थित जनहजारी विद्यापीठले भोगचलन गर्दै आएको दुई बिघा ११ कठ्ठा जग्गा गुठी संस्थान र मालपोत कार्यालयको कागजात किर्ते गरी उनले आफ्नो नाममा बनाएको अभियोग छ। सिट नम्बर १३५४—१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा र ११ धुर र सिट नम्बर १३५४-१५ को २८ को २ बिग्घा ८ कठ्ठा १४ धुर उनले नातेदार अशोक शर्माका नाममा नामसारी गराएका थिए। शर्माको नामबाट त्यो जग्गा अरुलाई बिक्री गरेका थिए। रामान्द चोकबाट ३ सय मिटर दक्षिण पश्चिममा रहेको सो जग्गाको चलनचल्तीको मूल्य डेढ अर्बभन्दा बढी छ।

लालकिशोर झा हत्या घटनाका प्रमुख योजनाकारको अभियोगसमेत वैकुण्ठमाथि छ। उक्त हत्यामा ‘सुटर’का रूपमा प्रयोग भएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका राकेश पाण्डेले मुख्य योजनाकार वैकुण्ठ रहेको बयान प्रहरीमा दिएका थिए। सो हत्या काण्डमा मुख्य योजनाकार रहेका वैकुण्ठ अपराधका यस्ता विभिन्न गतिविधिमा प्रत्यक्ष संलग्न थिए। हाल उनी अदालतको फरार सूचीमा छन्।

सर्वोच्च अदालतको ७ नम्बर इजलासको संयुक्त फैसलाबाट वैकुण्ठ दासको महन्त पद पनि खारेज गरिएको छ। न्यायाधीश डा. आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानले संयुक्त रूपमा महन्त पद खारेजीको फैसला गरेका हुन्। गुठी संस्थान र स्थानीय रामान्द युवा क्लबले वैकुण्ठ दास वैष्णवविरुद्ध ६ वर्षअघि सर्वोच्च अदालतमा मुद्दा हालेको थियो।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दास बालिकालाई यौन दुव्र्यवहारमा मुछिए। मन्दिरमा पुजापाठ गर्ने नाममा उनले बालबालिकालाई निःशुल्क ट्युसन पढाउँथे। तर, ट्युसन पढ्न जाने बालिकाहरूसँग नै दुष्कर्म गर्ने गरेको आरोप उनीमाथि लाग्यो।

भारत घर भएका शिवशंकर तुलसी स्मारकमा साधुको भेष धारण गरेर बस्थे। बालबालिकालाई यौन दुव्र्यवहार गर्न थालेपछि उनीविरुद्ध अभिभावकहरूले जिल्ला प्रहरीमा उजुरी दिएका थिए। तर, उनी फरार भए।मन्दिरको सम्पत्ति विवादकै कारण मटिहानीस्थित लक्ष्मीनारायण मठका तत्कालीन मान महन्त देवादासको सीमावर्ती भारतीय गाउँमा हत्या भएको थियो। २०३० सालमा जनकपुरको पेठिया गाछीस्थित गिरनारी कुटीका महन्थ रवि गिरी र उनका चेला वीर गिरीलाई मन्दिरको जग्गा विवादमै एकै रातमा हत्या गरी मन्दिरकै सन्दुकमा राखिएको अवस्थामा शव फेला परेको थियो।

२०३८ सालमा जानकी मन्दिरको उत्तरी ढोकामा रहेको इनारमा स्थानीय जोगी साहको शव फेला परेको थियो। सो घटना महन्तकै दबाबमा सामसुम पारिए पनि जग्गा विवादकै कारण हत्या भएको स्थानीयको दाबी छ। बिहारकुण्डका महन्थ रामपुकार शरणलाई पनि जग्गा विवादकै कारण गोली हानी हत्या गरिएको थियो।

गुठी संस्थानले अभिभावकत्व लिनुपर्छ

गुठी संस्थानले मन्दिरहरूमा भइरहेको अनैतिक क्रियाकलापप्रति अंकुश लगाउन अभिभावकत्वको भूमिका निर्वाह गर्नु जरुरी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव बताउँछन्। ‘जुन मन्दिरहरूमा गलत क्रियाकलाप भएको छ भने त्यहाँ निगरानी गर्न र जहाँ मन्दिरहरूमा पुजारी छैनन् र पूजापाठ नै बन्द भएको छ भने त्यहाँ पुजारी नियुक्त गर्नतर्फ गुठीले ध्यान पुर्‍याउनुपर्छ,’ उत्तराधिकारी महन्थ दास भन्छन्, ‘गुठीले ध्यान नदिएको कारणले पनि अवस्था अराजक हुँदै गएको छ। धर्म र संस्कृतिको रक्षा गर्नका लागि भए पनि संस्थानले यसतर्फ ध्यान दिनु आवश्यक छ।’

नियामक निकाय सक्रिय नहुँदा अराजकता 

मठमन्दिर तथा धार्मिक संस्थानहरूको नियमक निकाय गुठी संस्थान, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र पालिकाहरूबीच अधिकार बाँडफाँट तथा स्पष्ट मापदण्डको अभावका कारण पनि अराजकता बढेको बताउँछन् बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह।

‘गुठीको आफ्नो ऐनकानुन छ, बृहत्तरको आफ्नो छ र स्थानीय पालिकाको आफ्नै अधिकार क्षेत्र छ। तर, यी तीनवटै निकायको साझा अधिकार क्षेत्र निर्धारण नभएको कारणले पनि थुप्रै कुराहरू अल्झिएका छन्’, बृहत्तर अध्यक्ष साह भन्छन्, ‘अहिले यस क्षेत्रका ८० प्रतिशत मठ मन्दिरमा पुजारी वा महन्थ छैनन्।

गुठीको कानुनमा स्पष्ट व्यवस्था छ कि पाँच वर्षमा पुजारी वा महन्थ तोक्ने यसलाई नै टेकेर अहिले गुठीले आफूलाई मन नपरेका पुजारीलाई पाँच वर्ष नपुग्दै हटाइदिने, समयमा तलब नदिने जस्ता काम गरेको हुन्छ। यस्तोमा संरक्षण सम्बद्र्धन गर्ने भनेर तोकिएका महन्थहरूनै २० वर्ष अगाडिको किर्ते औंठाछाप लगाएर जग्गा बेचिरहेका छन् यस्ता गतिवीधिहरू जनसरोकारका विषय हुन्।’

यस सम्बद्धमा तीनवटै निकाय जिम्मेवार हुनु आवश्यक छ। अहिले मन्दिरहरू भित्र व्यावसायिक भवन बनेका छन्। मान महन्थहरू अपराधमा फसेका छन्। यी सबैको कारण नियमक निकाय सक्रिय नहुनु हो। अध्यक्ष साह भन्छन्, ‘यदि अब पनि ठोस र कडा कानुन ल्याएर मठ मन्दिरहरूमाथि निगरानी गरिएन भने भू– माफियाहरूले गुठीका जग्गाहरू सखाप पार्न बेर लाग्दैन।’ -अननपूर्ण पोस्ट

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ०८:१६:४७ , १ वर्ष अगाडि