अकस्मात् प्रधानमन्त्री पद छाड्नु परेपछि भाडाको घर खोज्दै देउवा

रेडियो गौशाला , १२७६  पटक हेरिएको

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल आफ्नो निजी निवास बुढानीलकण्ठ नफर्किने भएका छन् ।

उनको निजी निवास मर्मत भइरहेका कारण तत्काल बुढानीलकण्ठ फर्किने अवस्था नरहेको हो ।

अकस्मात् प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्थामा रहेका देउवाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार खाली गर्न पनि समय लाग्ने भएको छ ।

‘बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेको छ । त्यहाँ बस्न सक्ने अवस्था छैन । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको छ,’ देउवा स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले देउवा बस्नका लागि भाडाको खबर खोजीरहेका छन् । जसका लागि केही घरहरु हेरिएता पनि टुंगो भने लागेको छैन ।
घर फाइनल भएलगत्तै सरकारी निवास वालुवाटार नयाँ प्रधानमन्त्रीका लागि खाली गरिने जनाइएको छ ।

प्रधानमन्त्री देउवा सत्तामै रहने आशाले घर मर्मतको कार्य थालनी भएको थियो । तर नेकपा माओवादी ले गठबन्धनबाट खुट्टा निकालेपछि देउवा प्रधानमन्त्रीबाट विदा हुनु परेको थियो ।

आइतबार प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।

प्रकाशित मिति: २०२२-१२-२७ , समय : १२:५४:१७ , २ वर्ष अगाडि