धनुषामा पोलमा मोटरसाइकल ठोक्किएर युवकको मृत्यु

रेडियो गौशाला , ५०३  पटक हेरिएको

जनकपुरधाम । पोलमा मोटरसाइकल ठोक्किएर एक युवकको मृत्यु भएको छ । धनुषाको विरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्ड अन्तर्गत शहिद नगर गरपालिका ६ हठीपुरमा मोटरसाइकल पोलमा ठोक्किएर युवकको मृत्यु भएको जिल्ला प्रही कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ हरिने बस्ने दुखी ठाकुरका छोरा २८ वर्षीय रामचन्द्र ठाकुर रहेका प्रहरीले जनाएको छ । बिहीबार बिहान निज सवार मधेश प्रदेश २–००६ प १८१९ नम्बरको मोटरसाइकल कलभर्टको पोलमा ठोकिएर दुर्घटना भएको हो । उनी गिद्धादेखि यदुकोहातर्फ जाँदै थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ठाकुरलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-२९ , समय : १४:११:४९ , १ वर्ष अगाडि