विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था

रेडियो गौशाला , १३००  पटक हेरिएको

काठमाडौँ । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको हो ।

आजबाट विदेश बाट आउनेहरूले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था लागू गर्ने भनेको थियो ।

सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । जसअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशत भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था बनाएको थियो ।

सरकारले यो निर्णयको चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल यो व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

जसको विरोधमा विदेशमा रहेको नेपालीहरूले नो रेमिट्यान्स अभियानसमेत चलाएपछि सरकार यो निर्णयबाट पछि हट्न बाध्य भएको थियो ।

त्यसो त केही व्यापारीहरूको सेटिङमा निश्चित समूहले यो व्यवस्था लागू गर्न खोजेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : १२:४१:५९ , १ वर्ष अगाडि