लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल र उपेन्द्र महतोको दाबी

रेडियो गौशाला ,

जितेन्द्र सोनल, उपेन्द्र महतो

जनकपुरधाम । मधेश प्रदेश लोसपामा जितेन्द्र सोनल र उपेन्द्र महतोको संसदीय दलको नेतामा दाबीका साथै गुटबन्दी समेत देखिएको छ ।

यहाँ अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच तानातान देखिएको छ भने अर्का नेता शरत सिंह भण्डारी भने निर्णायक देखिएका छन् ।

अध्यक्ष ठाकुर पक्षवाट जितेन्द्र सोनलले फेरि संसदीय दलको नेतामा दाबी गरेका छन् भने वरिष्ठ नेता महतोका भतिजो तथा प्रदेश सांसद उपेन्द्र महतोले संसदीय दलको नेतामा दाबी गरेका छन् । हुन त अध्यक्ष ठाकुर पक्षवाट अभिराम शर्माले पनि संसदीय दलको नेतामा दाबी गरेका छन् तर, उनी पछि हटने देखिएको छ । सांसद तथा संसदीय दलका नेतामा दाबी गरेका उपेन्द्र महतोले नैतिकताका आधारमा जितेन्द्र सोनलले संसदीय दलको नेतामा दाबी गर्न नहुने तर्क गर्दै उनले मधेश प्रदेशको अध्यक्ष पदबाट पनि राजिनामा दिनुपर्ने माग गरेका छन् ।

उनले मधेश प्रदेशमा सोनलकै कारण पार्टी कमजोर भएको बताउँदै संसदीय दलको नेता भएका पार्टीका अध्यक्ष रहेका र मन्त्रीसमेत भएकाले प्रदेशमा पार्टी कमजोर हुनुको जिम्मेवारी पनि लिनुपर्ने बताए । उनले शुक्रवारको बैठकमा संसदीय दलको विधान पास गरेको र केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन गराउनुपर्ने प्रावधान रहेको जानकारी दिए ।

सोनलले संसदीय दलको नेतामा दाबी गरे आफ्नो दाबी पनि रहने तर, अन्य कुनैले दाबी गरे त्यसमा आफ्नो समर्थन रहने बताउँदै उनले पहिलो पटक २५ सांसद रहेका पार्टी, पार्टी विभाजन पछि १६ र सम्पन्न भएको निर्वाचनमा ९ वटा सांसदमा आएको आरोपसमेत लगाए ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : ०९:५७:१६ , ९ महिना अगाडि