बर्दिबास : एउटै वडामा बीस करोडको गोलभेँडा उत्पादन

रेडियो गौशाला , १८८३  पटक हेरिएको

रवीन्द्र उप्रेती, बर्दिबास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा रहेको खयरमाराका किसानले करोडौँ रुपियाँको गोलभेँडा उत्पादन गरेका छन् । यो गाउँका चार सय किसान परिवार अहिले चैते गोलभेँडा लगाउन व्यस्त छन् ।

यहाँका किसानका अनुसार खयरमारामा वार्षिक २० करोड रुपियाँको गोलभेँडा उत्पादन हुने गरेको छ । वर्षको दुई पटक उत्पादन लिन सकिने र व्यापारीले घरमै आएर खरिद गर्ने हुँदा सिङ्गो गाउँँ व्यावसायिक गोलभेँडा खेतीमा संलग्न छन् ।

बर्दिबास नगरपालिका–१० मा पर्ने खयरमारा महोत्तरी जिल्लाको एक मात्र गाउँ हो, जहाँ साउन र माघमा गरी वर्षको दुई पटक गोलभेँडा खेती लगाइन्छ । साउनको बेर्नाले असोजदेखि र माघमा रोपेको चैतदेखि फल्ने हुँदा यहाँ वर्षभरि नै गोलभेँडा उत्पादन हुँदै आएको छ ।

अन्नबालीभन्दा धेरै आम्दानी

पाँच÷सात वर्षअघि विमल र देवी श्रेष्ठले गाउँमा गोलभेँडा खेती सुरु गर्नुभएकामा तीन वर्षदेखि पूरै गाउँमा गोलभेँडा लगाउन थालिएको हो ।

कृषक लक्ष्मण श्रेष्ठका अनुसार परम्परागत अन्नबालीको तुलनामा सोचेभन्दा बढी आर्थिक उपार्जन हुन थालेपछि गोलभेँडा खेतीप्रति गाउँलेको आकर्षण बढेको हो । “यहाँ डेढ सय बिघामा टमाटर खेती हुने गरेको छ । यस क्षेत्रका भालुजोडा, आरन डाँडा, घिसिङ टोल, मूल खोलालगायत चुरेको फेदीदेखि डाँडासम्म यो खेतीको विस्तार भएको छ,” श्रेष्ठले भन्नुभयो ।

अहिले सरदर प्रतिकट्ठा ६४ हजार अर्थात् प्रतिबिघा १२ लाखदेखि १३ लाख रुपियाँको गोलभेँडा उत्पादन हुने कृषक श्रेष्ठले बताउनुभयो । यो हिसाबले यस क्षेत्रमा वार्षिक २० करोड रुपियाँको गोलभेँडा उत्पादन हुँदै आएको छ । गोलभेँडा खेती गर्न थालेदेखि गाउँलेको जीवनस्तर पनि फेरिन थालेको छ । आरन डाँडाकी बदमाया श्रेष्ठले १० कट्ठा जग्गामा अन्नबाली लगाउँदा एक लाख रुपियाँ पनि आम्दानी नभएकामा पोहोर साल पाँच कट्ठामा गोलभेँडा खेती गरेर तीन लाख रुपियाँ आम्दानी भएको बताउनुभयो ।

सोही ठाउँका ८० वर्षीय तुलमान श्रेष्ठले यसअघि २० हजार रुपियाँको अन्नबाली उत्पादन गरिरहनुभएकामा चार कट्ठा खेतमा लगाएको गोलभेँडाबाट खर्च काटेर दुई लाख रुपियाँ बचत भएको बताउनुभयो । उहाँ अहिले १८ कट्ठामा गोलभेँडा खेती गर्ने सोचमा हुनुहुन्छ ।

यहाँको गोलभेँडा खेतीले तरकारी व्यापारीलाई पनि आकर्षण गरेको छ । खेतमै भेटिएका तरकारी व्यापारी कपिलदेव महतोका अनुसार गोलभेँडा स्थानीय बजारमै खपत भए पनि यहाँ उत्पादन हुने खुर्सानी भने भारतीय बजारसम्म पुग्ने बताउनुभयो ।

छैन सरकारी सहयोग

दुर्गम भेगका कृषकले गरेको अनुकरणीय उद्यमशीलतालाई भने राज्यको कुनै पनि निकायले सम्बोधन नगरेको स्थानीय कृषकको गुनासो छ । नगरपालिकादेखि प्रदेश, सङ्घ, निर्देशनालय, कृषि ज्ञान केन्द्रबाट कसैले चासोसमेत नलिएको गाउँलेको दुखेसो छ । आफ्नो नगरपालिकामा गोलभँेडाको व्यावसायिक खेती भएको सम्बन्धमा नगरप्रमुख प्रह्लाद क्षेत्री र जलेश्वरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले अनभिज्ञता प्रकट गर्नुभयो ।

नगरप्रमुख क्षेत्रीले असारमा सम्पन्न नगर परिषद्लाई लिखित सम्बोधन गर्दै ‘अब कृषि र कृषकमैत्री योजना बनाइने’ भनी आश्वासन दिनुभएको थियो तर नगरपालिकाले गोलभेँडा खेतीलाई चालू आवको बजेटमा सम्बोधनसमेत गरेको छैन ।

नगरपालिकाको चालू बजेटमा मल्चिङ प्लास्टिकका लागि साढे दुई लाख र वर्षको दुई पटक तरकारीको निःशुल्क बीउबिजन वितरणका लागि भनेर पाँच लाख रुपियाँ विनियोजन गरेको छ तर स्थानीय गोलभेँडा कृषकले भने अहिलेसम्म कुनै पनि सहयोग नपाएको बताएका छन् । नगरप्रमुख क्षेत्रीले उत्तरी भेगका गोलभेँडा कृषकसँग स्थलगत भेट गरेर सहयोगको पहल गर्ने बताउनुभयो ।

प्राविधिक ज्ञान नहुँदा अनुमान र अनुभवका आधारमा खेती लगाउन कृषक बाध्य छन् । सहज सिँचाइ, मल, बीउबिजन, मल्चिङ प्लास्टिकको समेत व्यवस्था नहुँदा गोलभेँडा खेती महँगो र झन्झटिलो हुँदै गएको छ । एक कट्ठा गोलभेँडा खेती गर्न १५ देखि २० हजार रुपियाँ खर्च हुने गरेको कृषकको भनाइ छ । कोल्ड स्टोर नहुँदा यहाँका कृषकले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । समयमै बेचेन भने फल बिग्रने डर हुँदा व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : १०:२८:३५ , १ वर्ष अगाडि