रेडियो गौशाला ,

अजय कुमार झा, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट आजदेखि पूर्व श्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत भएको छ ।
यसअघि पुनः दर्ताको काम मात्र हुने गरेकोमा आजदेखि सेवा विस्तार भएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ६ सय ३६ जनाको पुनः दर्ताको काम भएको श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख राम उद्गार अधिकारीले जानकारी दिनुभयो ।
नयाँ श्रम तथा अन्तिम श्रमको स्वीकृति यसै कार्यालयबाट शुरु भएपछि सेवाग्राहीको सङ्ख्या व्यापक रुपमा बढेको छ ।
मधेश प्रदेश र त्यसमा पनि धनुषा तथा महोत्तरीबाट भारी मात्रामा वैदेशिक रोजगारीका लागि युवाहरू गएका छन् ।
धनुषाबाट मात्र ४० हजारको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् ।
नेपालमा नै सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि युवाहरू खाडी मुलुक पुगेका छन् ।
मधेश प्रदेशबाटै श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति मिलेपछि यस क्षेत्रका युवाहरू उत्साहित भएका छन् ।
अब घर नजिकैबाट स्वीकृति हुन थालेपछि समय तथा आर्थिक बचत हुने जनकपुरधाम उपमहानगरपालिका २५ का असिम कवाडीले बताउनुभयो ।
जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका सेवाग्राहीलाई सेवा दिन शुरु गरेको हो ।
त्यस्तै, वीरगञ्जबाट रौतहट, बारा तथा पर्साका सेवाग्राहीलाई सेवा प्रदान शुरु गरिएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०१-०८ , समय : १९:०४:१३ , ९ महिना अगाडि