रेडियो गौशाला , ९४२ पटक हेरिएको
चितवन- गृहमन्त्री रवि लामिछानेले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरा पालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको गुनासो गरेका थिए ।
लामिछानेले त्यहीँबाट नेपालगञ्ज, सिन्धुली र सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोन गरेर अवैध आयात रोक्न निर्देशन दिएका नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिका पोखरेलले जानकारी दिए ।
गृहमन्त्री लामिछानेले पोल्ट्री क्षेत्रमा परेका समस्याको समाधान गर्न आफूले सक्दो सहयोग गर्ने बताए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतको योगदान गर्ने, हजारौँलाई रोजगारी दिने आत्मनिर्भर व्यवसाय कुखुरा पालन धराशायी भएको गुनासो गरे ।
भारतीय मासु तथा चल्लाहरू निर्बाध भित्रिएको, दानाको कच्चा पदार्थको मूल्यवृद्धि भएको, बैङ्कको ब्याजदर बढेको र लागत अनुसारको मूल्य पाउन नसकेका कारण साना लगानीका व्यवसायी पलायन भइसकेको र ठुला व्यवसायी पलायनको नजिक पुगेको उनले बताए ।
चितवनका ३८४ ह्याचरी उद्योगमध्ये हाल २०० मात्रै सञ्चालनमा छन् । विगतमा एक हप्तामा ४५ लाखसम्म चल्ला उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ लाखमा झरेको छ । त्यसमा पनि उत्पादन भएका आधा चल्ला बिक्री गर्न समस्या भएको व्यवसायीहरू बताउँछन् ।
नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अनुसार ५-१० हजार कुखुरा पाल्ने ६० प्रतिशत व्यवसायीले व्यवसाय बन्द गरिसकेका छन् । लेयर्स चल्ला उत्पादन गर्ने देशभरिका १४ वटा ह्याचरीमध्ये २ वटा मात्रै पूरा क्षमतामा सञ्चालनमा छन् । बाँकी १२ मध्ये कुनै बन्द भएका छन् भने कुनै उत्पादन घटाएर बसेका छन् ।
अहिलेकै अवस्था कायम रहेमा र सरकारले कुनै सहयोग नगरेमा २०८० सालसम्म नेपालका धेरैजसो पोल्ट्री व्यवसाय बन्द हुने व्यवसायीहरू बताउँछन् । केही दिन अगाडि महासङ्घको टोलीले पश्चिम नेपालको नेपालगञ्ज नाकासम्मको स्थलगत भ्रमण गरेको थियो ।
सो क्रममा नेपालगञ्जमा रहेको डीके सप्लार्यस र बर्दघाटको न्यू दाउन्ने एग्रो सप्लायर्समा भारतबाट ल्याएको कुखुराको चल्ला, अण्डा र मासु भेटिएपछि सुरक्षा निकायको सहयोगमा छापा हानेर सिल गरिएको छ । ती सप्लार्यस सञ्चालकलाई पक्राउ गरी हाल प्रहरीले अनुसन्धान गरिरहेको ह्याचरी उद्योग सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।
केही समयपछि वीरगन्ज लगायतका क्षेत्रमा स्थलगत अध्ययनका लागि जाने पोखरेलले बताए । नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्छ । त्यसैले सीमावर्ती क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले बताए ।
भारतमा बिक्री गर्न नमिल्ने गरी बुढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको व्यवसायीहरूको बताउँछन् । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुन्छ । तर बजारमा बुढा कुखुराको रेसा भएको मासु आउने गरेको व्यवसायीहरू बताउँछन् ।
प्रकाशित मिति: २०२३-०१-१२ , समय : १९:००:१६ , २ वर्ष अगाडि