सरकारमा नजाने शर्तमा मात्रै जसपासँग एकता हुन्छ : माधव नेपाल

रेडियो गौशाला , ९०६  पटक हेरिएको

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी सरकारमा नजाने अवस्थामा मात्रै दुई दलबीच एकता हुने बताएका छन्।

अध्यक्ष नेपालले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पारेका छन्।

‘जसपा केन्द्र र प्रदेशमा सरकारमा जान खोजिरहेको छ। हामी रचनात्मक प्रतिपक्षमा बस्ने भनिरहेका छौँ। अन्य मुद्दामा केही समस्या छैन। सरकारको सहभागिताको सवालमा पछि हटे एकताका लागि कुनै समस्या छैन,’ नेपालले भने।

एकीकृत समाजवादीले जसपासँग एकताका लागि कार्यदल नै गठन गरेको छ। समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा विजय पौडेल, गङ्गालाल तुलाधर र प्रकाश ज्वाला सम्मिलित कार्यदल बनाएको छ।

समाजवादीसँगको एकताका विषयमा छलफलमा लागि जसपाले पनि राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी सहभागी कार्यदल बनाएको छ।

प्रकाशित मिति: २०२३-०१-१२ , समय : १९:०४:०५ , २ वर्ष अगाडि