स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढ्यो

रेडियो गौशाला , १७९६  पटक हेरिएको

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या अघिल्लो निर्वाचनको भन्दा एकतिहाइले बढेको छ । २०७४ को संसदीय निर्वाचनमा १ हजार ३ सय १७ जना स्वतन्त्र उम्मेदवार रहेकामा यस पटक १ हजार ९ सय ५७ स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभामा ८ सय ६७ र प्रदेशसभामा १ हजार ९० स्वतन्त्र उम्मेदवार छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा सदस्यदेखि पालिका प्रमुखसम्म ३ सय ८४ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यसरी स्वतन्त्र उम्मेद्वारी दिनेमा युवाहरू धेरै रहेका छन् ।

अघिल्ला चुनाबहरूको तुलनामा स्वतन्त्र उम्मेद्वार मात्रै होइन, युवा उम्मेद्वारको सङ्ख्या पनि बढेको छ । राजनितिमा युवाहरूको चासो छैन भन्ने मान्यता रहिरहेका समयमा यसरी युवाहरूको उम्मेद्वारी र चासो बढ्नु सकारात्मक भएको विज्ञहरू बताउँछन् । सीआईएनसँग कुराकानी गर्दै समाजशास्त्री डा. भरत बडालले युवाहरूको सङ्ख्या बढ्दै जानु सकारात्मक भएको बताउनुभयो । स्वतन्त्रतर्फ महिलाको सङ्ख्या भने न्यून छ । यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ८ सय ६७ मध्ये ७७ जना महिला छन् ।

प्रदेशसभाका १ हजार ९० स्वतन्त्र उम्मेदवारमध्ये महिला ९८ जना छन् । ०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ ५ सय २ जना स्वतन्त्र उम्मेदवारमध्ये ४० र प्रदेशसभातर्फ ८ सय १५ स्वतन्त्र उम्मेदवारमध्ये ५० जना महिला थिए ।

प्रकाशित मिति: २०२२-१०-२८ , समय : ०८:५५:४२ , २ वर्ष अगाडि