२० लाख धरौटी बुझाएर सन्दीप लामिछाने थुनामुक्त

रेडियो गौशाला ,

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका छन्।

लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लामिछाने थुनामुक्त भएको पुष्टि गरे।

उच्च अदालत पाटनले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो।

लामिछानेलाई विदेश जान रोक लगाइएको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नका लागि इन्टरपोलसँग आग्रह गरेको थियो।

जाहेरी परेको करिब एक महिनापछि गत असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : १६:४१:२२ , ९ महिना अगाडि