अवैध उत्खनन् गर्ने सवारी प्रहरीको नियन्त्रणमा

रेडियो गौशाला , १०५०  पटक हेरिएको

सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देखी खोलामा मनपरी उत्खनन् गर्ने दुई जेसिबी र नौ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लखन्देखी पुलदेखि झण्डै एक किलोमिटर उत्तरमा मापदण्ड विपरीत अवैध उत्खनन् गरिरहेका जेसिबी र टिपरलाई प्रहरीले शुक्रबार साँझ चालकसहित नियन्त्रणमा लिएको हो । अवैध उत्खननमा संलग्न जेसिबी र टिपर इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।

प्रहरीले ना ७ ख २६६५, ना ७ ख ८९२१, ना ७ ख ५९९५, ना ७ ख ५४५६, ना ७ ख ६४३९, ना ७ ख २९८५, ना ७ ख ६७८९, प्रदेश २–०३–००१ ख ४२४३ र प्रदेश २–०३–००१ ख ०२०१ नम्बरको टिपर र दुई वटा जेसिबी नियन्त्रणमा लिएको हो । ठेक्का लागे पनि त्यहाँ निकै गहिरो खाल्डो बनाएर जोखिम निम्तने गरी उत्खनन् भइरहेको पाइएको प्रहरीले छ ।

उत्खननमा ठूलो गिरोह नै सक्रिय रहेकाले अवरोध हुन सक्ने ठानेर जेसिबी र टिपर नियन्त्रणमा लिनका लागि लालबन्दी र हरिवनबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको थियो । सर्लाही प्रहरीका प्रमुख नरेशराज सुवेदीले जेसिबी र टिपरलाई चालकसहित नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी आवश्यक कारबाहीका लागि नगरपालिकाको जिम्मा लगाउने तयारी गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभएको छ । लखन्देखी खोलामा पुल छेउछाउमै पनि देखादेखी अवैध उत्खनन हुने गरेको छ ।

अवैध उत्खननकै कारण दुई वर्षअघि लखन्देही खोलाले नवलपुर क्षेत्रमा वन तथा बस्तीमा कटान गरेको थियो । लखन्देहीसहित जिल्लाको बागमती, फूलजोर, बाँकेलगायतका खोलामा ढुङ्गा, गिटी, बालुवाको जथाभाबी उत्खनन हुने गरेको छ ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : १८:४७:२५ , २ वर्ष अगाडि