मधेशमा शीतलहरको कहर

रेडियो गौशाला , ४९७  पटक हेरिएको

धीरेन्द्रप्रसाद साह, जनकपुरधाम । 

पुस र माघ महिना तराई मधेशका जिल्लामा शीतलहरको कहरले जनजीवन कष्टकर बन्ने गरेको छ । यी दुई महिनामा शीतलहरसँगै चिसो बढ्छ । बिहानदेखि बेलुकासम्म एकैनासको बाक्लो हुस्सु (कुहिरो), पर्दा र पश्चिमी चिसो हावा चल्दा कठ्याङ्ग्रिने जाडो हुन्छ । चिसोले कठ्याङ्ग्रिएर कतिपयको ज्यान नै जाने गरेको पनि पाइएको छ । चिसोमा कठ्याङ्ग्रिएर चार जनाको ज्यान गइसकेको छ । मानिस मात्र होइन, घरपालुवा जनावरसमेत यसको असरमा परेका छन् ।

चिसो बढेसँगै धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित मुसहरी टोलका ६० वर्षीय बनेको छ । गाउँघरमा कृषि मजदुरी गरेर उहाँले गुजारा गर्दै आउनु भएको छ । तर यो चिसोमा काम पनि नपाइने, पाइए पनि गर्न नसकिने हुँदा उहाँ बेरोजगार हुनुहुन्छ । रोजगारी गुमेपछि सदा परिवारलाई हातमुख जोर्न र चिसोबाट बच्न बडो मुस्किल परेको छ ।

पाँच जना छोराछोरीसहित सात जनाको परिवारलाई छाक टार्न उहाँलाई धौधौ छ । उहाँको शरीरमा लगाएको बस्त्रबाहेक चिसोमा लगाउने अरू न्यानो कपडा केही छैन । दिनभरि आगो तापेर समय बिताउनु परेको छ । सुत्नलाई परालको ओछ्यान र ओढ्नलाई परालकै सिरक बनाउनु परेको छ । हातमुख जोर्न त समस्या परेको बेला न्यानो कपडा त कसरी किन्नु ? सदा आफ्नो पीडा यसरी पोख्नुुहुन्छ, ‘‘चिसो बढेपछि काम पाइँदैन । काम नपाएपछि जीवन कसरी चलाउनु ? खानलाई अन्न छैन, आङ ढाक्न बस्त्र छैन, हामी गरिबको जीवन यो बेला नर्कजस्तै भएको छ ।’’

पुष्पवलपुरस्थित मुसहरी टोलका सबैजसोको अवस्था यस्तै छ । परालको भरमा चिसो काट्छन् । मुसहरी टोलका अर्का ४५ वर्षीय गङ्गाराम सदालाई पनि चिसोबाट बच्न परालको आगो ताप्नुबाहेक अरू उपाय छैन । छ जनाको परिवार रहेको गङ्गाराम थरथर काँप्दै रात बिताउनु हुन्छ । उहाँ र उहाँका परिवारले परालकै ओछ्यान र पुरानो झुलमा पराल भरेर बनाइएको सिरकजस्तो ओढेर रात बिताउनु हुन्छ ।

प्रहरीमा उजुरी र पोस्टमार्टम नगर्दासम्म चिसोले ज्यान गएको हो कि अन्य कारणले हो भन्ने खुल्दैन । त्यसैले यो बेला मृत्यु हुने सबैको चिसोबाट ज्यान गएको भन्न मिल्दैन ।

मजदुरीबाट दिनको पाँच/सात सय रुपियाँ उहाँ कमाउनु हुन्छ । सधैँ काम पनि पाइँदैन । कहिलेकाहीँ त एक दिन कमाएर सात दिनको छाक उहाँले टार्नु पर्छ । ओढ्नलाई सिरक, ओछ्याउनलाई डसना अनि शरीरमा न्यानो लुगा जोहो गर्नु उहाँका लागि सपनाजस्तै भएको छ ।

लत्ताकपडा मात्र होइन, घर पनि यहाँका मानिसको जाडो छेक्ने छैन । ऐलानी जग्गामा सानो झुप्रो बनाएर बस्दै आउनु भएका सुदिपको त्यही झुप्रोको पनि बार भत्किएको छ । घरमा ढोकासमेत छैन । कुन बेला चिसोले कठ्याङ्ग्रिएर बिरामी पर्ने हो भनेर उहाँ चिन्तित हुनुहुन्छ ।

अर्का लखन सदा पनि दैनिक मजदुरी गरी छाक टार्नु हुन्छ । उहाँलाई पनि जाडोयाममा काम नपाउँदा गुजारा गर्न नै समस्या छ । चिसोमा ज्याला मात्रै जान्छ, काम कम हुन्छ भनेर धेरैले काम लगाउँदैनन् । त्यसैले दिनभरि काम खोज्न जाँदा पनि बेलुका त्यसै फर्कनु हुन्छ लखन ।

यता, सप्तरीको बोदेबरसाइन नगरपालिका–९ की साहिरा बिबीको चार जना छोरी स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत छन् । चिसो बढेको कारण छोरीहरूलाई उहाँले विद्यालय पठाउनु भएको छैन । छोरीहरूले लगाउने न्यानो कपडा छैन । स्कुल पठाउँदा छोरीहरूलाई चिसो लाग्यो भने औषधि उपचार कसरी गर्नु भनेर साहिरा बिबी चिन्ता व्यक्त गर्नु हुन्छ । चिसोले गर्दा तराई मधेशका हुँदाखानेहरूको कथा कहालीलाग्दो छ । चिसो बढ्दै जाँदा रुघाखोकी, निमोनिया आदि रोगले सताउँदा बेहोर्नुपर्ने व्यथा झन् चर्को छ ।

मानिस मात्र होइन, चौपाया, पशुपक्षीसमेत चिसोले प्रभावित हुन्छन् । किसानले पालेका गाईगोरु, बाख्रा, कुखुरालाई चिसोबाट जोगाउन हम्मेहम्मे हुने गरेको कृषक देवनारायण यादवको कथन छ । गाईवस्तुलाई जुटबोरा वा पुराना कपडा ओढाइदिने, घुर बालेर गोठलाई न्यानो पार्ने काम गरिन्छ । यस्तो अवस्थामा चिसोबाट बचाउन स्थानीय निकायले कुनै पहल नगरेको भन्दै मुसहर, चमार, डोमजस्ता दलित परिवार र अन्य अति विपन्न परिवारले दुःखेसो पोखेका छन् । दिउँसोपख पारिलो घाम लागेर जनजीवन सामान्य भए पनि साँझ–बिहान र रातको समयमा भने कठ्याङ्ग्रिदो चिसो हुने गरेको छ । केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत मधेश प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको छ । तर यो घर पनि धेरै परिवार हुनेका लागि अपर्याप्त छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ४५ वर्षीय देवु सदाको कठ्याङ्ग्रिएर पुस २१ गते राति मृत्यु भयो । राति खाना खाएर सुत्नुभएको उहाँको चिसोले मृत्यु भएको गाउँपालिकाका विपत् व्यवस्थापन अधिकृत राजेशकुमार झाको कथन छ । घटनापछि गाउँपालिका कार्यालयले ५० किलो चामल, पाँच किलो मुरही, पाँच किलो दाल, पाँच किलो नुन, अढाइ किलो खानेतेल, दुई थान ब्लयाङ्केट र एक थान त्रिपाल पीडित परिवारलाई प्रदान गरेको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो भन्नुहुन्छ, ‘‘चिसोले कठ्याङ्ग्रिएर धेरै मानिसको ज्यान गएको हुन सक्छ तर यसको पुष्टि गर्ने प्रक्रियाबारे धेरैलाई थाहा छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन र अस्पतालको पोस्टमार्टम रिपोर्टका आधारमा मात्र चिसोले मरेको वा अन्य कारणले मरेको भन्न सकिन्छ । मान्छे मरेको हुन्छ तर प्रहरीमा उजुरी गरिँदैन र पोस्टमार्टम पनि गरिँदैन । यो प्रक्रिया नअपनाउँदा चिसोले ज्यान गएको हो कि अन्य कारणले हो भन्ने खुल्दैन । त्यसैले योबला मृत्यु हुने सबैको चिसोबाट ज्यान गएको पनि भन्न मिल्दैन ।

शीतलहर चल्नु, कठ्याङ्ग्रिदो चिसो हुनु प्राकृतिक कुरो हो । तर आर्थिक अवस्था कमजोर हुनेका लागि यसले धेरै असर गर्छ । कतिपयले ज्यान नै गुमाउने कुरोे माथि पनि भनियो । तर यसबाट बच्न के गर्ने त ? सबभन्दा पहिले आर्थिक रूपमा सम्पन्न हुनुपर्छ । आर्थिक रूपमा सम्पन्न भए सिरक, डसना, बाक्लो लुगा किन्न सकिन्छ । पक्की घर बनाउन सकिन्छ ।

न्यानो लुगा र दाउरा मात्रै वितरण 

नेपालको तराई क्षेत्र शीतलहरबाट सबैभन्दा बढी प्रभावित हुने गरेको छ । सातवटा प्रदेशमध्ये मधेश प्रदेशका सबै जिल्ला तराईमा पर्छन् । यस प्रदेशमा ६१ लाख २६ हजार २८८ जनसङ्ख्या रहेको छ । त्यसमध्ये करिब ३५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका छन् । अर्थात् साढे २१ लाख जनसङ्ख्या गरिब छन् ।

चिसोले तराई मधेशका हुँदाखानेहरूका कथा कहालीलाग्दो छ । चिसो बढ्दै जाँदा रुघाखोकी, निमोनिया आदि रोगले सताउँदा बेहोर्नुपर्ने व्यथा त झन् चर्को छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला यस प्रदेशमा छन् । एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह यहाँ छन् । प्रदेशमा वडा सङ्ख्या एक हजार २७१ छन् । प्रदेशभित्र भएका वा हुन सक्ने प्राकृतिक तथा गैर प्राकृतिक विपत्को व्यवस्थापन, विपत्को पूर्वतयारी, पीडितको उद्धार, राहत वितरण, पुनस्र्थापना, पुनर्लाभसम्बन्धी व्यवस्था गर्न प्रदेश सरकारले विपत् व्यवस्थापन ऐन २०७५ बनाएको छ । ऐनमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपत् व्यवस्थापन समिति, गृह तथा सञ्चारमन्त्रीको अध्यक्षतामा विपत् व्यवस्थापन कार्यकारी समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपत् व्यवस्थापन समिति, नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको अध्यक्षतामा स्थानीय विपत् व्यवस्थापन समिति गठनको प्रावधान गरेको छ । ऐनअनुसार ती समितिहरू पनि स्वतः गठन हुन्छ । तर कामकारबाही प्रभावकारी देखिँदैन । शीतलहरको चपेटामा परेकाहरूको यकिन तथ्याङ्क सङ्कलन गर्नसमेत सकिएको छैन । शीतलहर प्रभावित क्षेत्र, बस्तीका थोरबहुतलाई सिरक, कम्बल, आगो ताप्न दाउरा वितरणबाहेक हरेक वर्ष केही हुने गरेको छैन ।

छैन दिगो समाधान 

विपत् बाजा बजाएर आउँदैन । विभिन्न प्राकृतिक विपत्मध्ये शीतलहर वर्षैपिच्छे आउने विपत् हो । जाडो मौसमको दुई महिनाभित्र जुनसकै बेला शीतलहर चल्ने गर्छ । शीतलहर एक÷दुई हप्तासम्म निरन्तर चलिरहन्छ । यसबाट मुख्य रूपमा गरिब, अतिविपन्न, असहाय वर्ग बढी प्रभावित हुन्छन् । शीतलहरबाट जोगिन अल्पकालीन र दिगो दुवै उपायको खोजी हुन आवश्यक छ ।

जाडोबाट बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, तातो खानेकुरा पनि पाउनु पर्छ । फाइबर, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ यो बेला खानु पर्छ । तीमध्ये एक हरियो सागपात पनि हो । चिकित्सक अरूणकुमार साहका अनुसार कम चिनी हालिएको गाजरको खीर, सुन्तला, भोगटे, कागतीजस्ता फलका साथै सामान्य तापमानको भोजन गर्नुपर्छ । पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवन यो बेला गर्नु हुँदैन ।

आर्थिक रूपमा अति कमजोर मानिसलाई गाँस, बास र कपासको समस्याले नै सताउँछ । ती वर्गका मानिसलाई शीतलहरबाट जोगाउन सबभन्दा पहिले आर्थिक रूपमा नै सम्पन्न बनाउनु पर्छ । गरिबीको रेखामुनि रहेका मानिसको आर्थिक स्थिति उकास्न उनीहरूलाई ज्ञान, सीप प्रदान गर्नुपर्छ । यी ज्ञान र सीपले उनीहरूको आर्थिक स्थिति उकास्न मद्दत गर्छ । कतिपयलाई स्वरोजगारका लागि बिनाधितो समूहमा ऋण पनि प्रदान गर्न सकिन्छ । तर मधेश प्रदेशमा गरिब, अतिविपन्न परिवारको आर्थिक समृद्धिका लागि विपत् व्यवस्थापन कार्यकारी समितिअन्तर्गत कार्यक्रम नरहेको मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव रामकुमार महतोको कथन छ । प्रदेशमा गरिब, विपन्नको तथ्याङ्क सङ्कलन नगरिएको कारण अनुमानको भरमा शीतलहर प्रभावितलाई राहत तथा न्यानो कपडा वितरणको योजना बनाउँदै आएको पनि उहाँले जानकारी दिनु भयो ।

कमजोर पूर्वतयारी

विपत् व्यवस्थापनका लागि विपत् आउनुअघि, आइसकेको बेला र त्यसपछिको तयारी गर्न आवश्यक कामकारबाहीका लागि पनि व्यवस्थापन समिति गठन गरिएको हुन्छ । शीतलहर सुरु भएपछि समितिहरूले औपचारिक बैठक बसेर विभिन्न निर्णय त गर्छन् । ती निर्णयबमोजिम नै शीतलहरबाट जोगिन सञ्चारमाध्यमसहित विभिन्न माध्यमबाट चेतनामूलक सन्देश प्रवाह गर्छन् । तर, यसपालि शीतलहर आउनु एक÷डेढ महिनाअघि चिसोबाट बच्न कुनै कार्यक्रम सञ्चालन गरिएको पाइएन । चेतनामूलक सन्देश प्रवाहले गरिब, अतिविपन्न परिवारलाई न्यानो हुँदैन, उनीहरूलाई आवश्यक छ न्यानो कपडा, सुरक्षित आवास र पेटभरि खाना । त्यसको व्यवस्थापनका लागि ठोस योजना ल्याउने गरी निर्णय भएको चाहिँ देखिँदैन ।

के हो शीतलहर ?

पुस र माघ महिनामा आकाशलाई दिनभरि नै बाक्लो कुहिरोले ढाक्ने गर्छ । यसले घाम लाग्न पाउँदैन । आकाशबाट चिसो शीत खस्छ, चिसो हावा चल्छ । यस अवस्थालाई शीतलहर भनिन्छ । बिहानदेखि बेलुकीसम्म वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाकेर घाम लाग्न नपाउँदा तापक्रम तल झर्छ । तापक्रम सूर्योदयसँगै केही बढेर मध्याह्नमा उच्चबिन्दुमा पुग्छ । सूर्यास्तसँगै तापक्रम फेरि घटेर सूर्योदय हुनुअघि न्यूनबिन्दुमा झर्छ ।

मौसमविद्का अनुसार हावामा पानीका कणहरू ९५ प्रतिशतभन्दा बढी भयो भने कुहिरो लाग्छ । कुहिरो लागेको बेला पृथ्वीको सतह र नजिकको वायुमण्डल चिसो र त्यसभन्दा माथिल्लो भागको वायुमण्डल न्यानो हुन्छ । दिन छिप्पिँदै जाँदा पृथ्वीको सतहको तापक्रम पनि बढ्दै जान्छ र वायुमण्डलको जलकण फेरि जलवाष्पमा परिणत हुन्छ । अर्थात् कुहिरो हट्छ । तर कुहिरोको तह बाक्लो भएर आवश्यक मात्रामा सौर्यकिरण पृथ्वीको सतहसम्म आउन सकेन भने दिनभरि कुहिरो हट्दैन । त्यही अवस्थालाई शीतलहर भनिन्छ ।

शीतलहरको प्रमुख कारण न्यून तापक्रम, जलवाष्पको प्रचुरता, प्रशस्त धुलीकण र बादल हटाउन पुग्ने सूर्यको प्रकाश (सौर्यकिरण) पृथ्वीको सतहसम्म नपुग्नु हो । यस्तो बेला मध्याह्नमा समेत सूर्यको किरण बादलको माथिल्लो भागबाटै परावर्तन भएर जान्छ । सूर्यकिरणले छिचोल्न नसकेपछि पृथ्वीको सतहमाथि बादल हट्दैन र शीतलहर कायम रहन्छ । विषाक्त धुवाँ–धुलो, फोहोर, इन्धनको अत्यधिक प्रयोग, इँटाभट्टा, डढेलो आदि कारणले लामो समय जमिन चिसो रहने गरेको छ, जसले शीतलहर चल्ने गर्छ । कम वर्षा, भौगोलिक अवस्थिति, हावाको बहाव आदिले शीतलहरको वातावरणलाई अझ अनुकूल बनाउँछ । आँधीबेहरी आउँदा वा पानी पर्दा बाक्लो बादल फाटेर शीतलहर हट्ने गर्छ । नेपालको अधिकांश तराई मधेश क्षेत्रमा शीतलहर चल्छ । शीतलहर चल्न थालेपछि मानिस मात्र होइन, खेतीपाती, पशुपालन, सडक यातायात, हवाई उडान, पर्यटन, शैक्षिक संस्थालगायत प्रभावित हुने गर्छ ।

प्रकाशित मिति: २०२३-०१-२१ , समय : १७:१०:५६ , १ वर्ष अगाडि