रेडियो गौशाला , ६९७ पटक हेरिएको
वीरगन्ज— पर्साको जिराभवानी गाँउपालिका-२ सेढवामा एक समाजसेवीले आफ्नो छोराको जन्मदिनको उपलक्ष्यमा दलित बस्तीमा एक सय थान कम्बल वितरण गरेका छन्।
वडा नम्बर २ का समाजसेवी परशुराम साहले आफ्नो छोरा सन्तोषकुमार साहको शुक्रबार परेको जन्मदिनमा तामझाम र भोजभतेरमा खर्च नगरी सेढवामै रहेको दलित बस्तीमा कम्बल वितरण गरेका हुन्।
जन्मदिनमा होटल तथा रेस्टुरेण्ट तामझाम सहितको भोजभतेर गरेर अनावश्यक खर्च गर्नुभन्दा विपन्न तथा असहायहरूका लागि समाज सेवा गर्दा पुण्य मिल्नुका साथै आत्मसन्तुष्टि पनि मिल्ने भएकाले आफूले भोजभतेर नगरि दलितबस्तीमा कम्बल वितरण गरेको उनले बताए।
कठ्याङग्रस्दो जाडोमा न्यानो कम्बल पाउँदा उनीहरूको मुहारमा देखिएको खुशीले आफूलाई आत्मसन्तुष्टि मिलेको उनले बताए।
उनले आगामी दिनमा पनि विपन्न र दिन दुःखीहरूका लागि समाजसेवालाई निरन्तरता दिने बताए। छोराको जन्मदिन मनाउन दलितवस्तीमा पुगेका साहलाई मुसहरहरूले फूलमाला लगाएर स्वागत पनि गरेका थिए।
प्रकाशित मिति: २०२३-०१-२१ , समय : १७:३४:४० , २ वर्ष अगाडि