रेडियो गौशाला , ८०४ पटक हेरिएको
काठमाडौँ- स्वतन्त्र सांसद प्रभु शाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले पदहरू आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने बताए ।
‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ’ उनले भने ।
अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री छन् । सांसद साहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने बताए ।
‘परराष्ट्र मन्त्रीमा विदेशीसँग पोर्टिफोलियो मिल्थ्यो, रक्षा मन्त्रालयमा सेनाको मनोबल उठाउन उपप्रधानमन्त्री चाहिन्थ्यो कि ?’ उनले प्रश्न गरे । भागवण्डाको राजनीति भनेको व्यक्ति खुसी बनाउने राजनीति भएकाले यसलाई ब्रेक थ्रु गर्नुपर्ने साहले बताए । ‘मन्त्रालयकै काम गर्ने हो भने प्रधानमन्त्री किन चाहिन्थ्यो ?’ उनले भने ।
पदहरू आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने भन्दै उनले भागवण्डाको राजनीतिले देश लाई समृद्धिको बाटोमा नजाने बताए ।
प्रकाशित मिति: २०२३-०१-२१ , समय : १९:०४:५९ , २ वर्ष अगाडि