१४ वर्षीया बालिकाले जन्माइन शिशु, भिनाजुविरुद्ध उजुरी दर्ता

रेडियो गौशाला ,

गौशाला- कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएको घटना बाहिरिएको छ ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका- ८ की बालिकाले माघ ३ गते घरमै छोरा जन्म दिएकी हुन्।

ती बालिकाले जन्माएका शिशुको बुवा को हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय वेलौरीले जनाएको छ।

नेपाली कानुन अनुसार १८ वर्ष नपुग्दै भएको यौन सम्बन्धलाई बलात्कार भएको मानिन्छ। जसका कारण उक्त घटना अपराधिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ‍।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए।

प्रहरीका अनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन्। गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्दार गरिएको प्रहरीको भनाइ छ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : १९:१६:०१ , ११ महिना अगाडि