सरस्वती पूजामा विद्यार्थीबाट चन्दा नअसुल्न महानगरको निर्देशन

रेडियो गौशाला , ५७२  पटक हेरिएको

वीरगन्ज- वीरगन्ज महानगरपालिकाले सरस्वती पूजाका नाममा विद्यार्थीबाट चन्दा नलिन निर्देशन दिएको छ।

महानगरमा रहेका निजी विद्यालयहरूले सरस्वती पूजा मनाउने नाममा विद्यार्थीहरूबाट मनलाग्दी ढंगले चन्दा भन्दै रकम असुल्न थालेको जनगुनासो आएपछि मंगलबार वीरगन्ज महानगरपालिकाको कार्यालयले सूचना जारी गर्दै त्यसो नगर्न निर्देशन दिएको हो।

यदि कुनै विद्यालयले सरस्वती पूजाका नाममा विद्यार्थीबाट चन्दा वा शुल्क लिएको भए तत्काल फिर्ता गर्न पनि महानगरले निर्देशन दिएको छ।

‘महानगरका निजी विद्यालयहरूले सरस्वती पूजाका नाममा चन्दा संकलन गरिरहेको भनि यस कार्यालयमा लिखित तथा मौखिक उजुरी परेकाले शिक्षा ऐन तथा नियमावलीले तोकेबाहेकको कुनै पनि शीर्षक वा बहानामा चन्दा तथा शुल्क उठाउने तत्काल रोक्न र लिइसकेको भए अविलम्ब फिर्ता गर्न अनुरोध गरिन्छ’, महानगरको सुचनामा उल्लेख छ।

वीरगन्जमा रहेका अधिकांश निजी विद्यालयले सरस्वती पूजा मनाउनका लागि विद्यार्थीहरूबाट जनही १ देखि पाँच सय रुपैयाँ असुली गरेको भन्दै तीन दिनअघि अभिभावक संघ पर्साले एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो।

संघका अध्यक्ष सन्दिप साहका अनुसार , सरस्वती पूजाका नाममा जीएचपी स्कुलले प्रतिविद्यार्थी १ सय २० रुपैयाँ, ज्ञानज्योती माविले २ सय रुपैयाँ , गोल्डेन फ्युचर माविले ४ सय रुपैयाँ, ओम नेशनल एकाडेमीले १ सय २० रुपैयाँ, एन्जल एकाडेमीले २ सय रुपैयाँ, जेम्स स्कुल अफ डकैला बहुअरीले २ सय रुपैयाँ, मेरिगोल्ड माविले एक सय ५० रुपैयाँ असुलेको थियो।

प्रकाशित मिति: २०२३-०१-२५ , समय : ०६:५०:२५ , २ वर्ष अगाडि