रेडियो गौशाला , ८०८ पटक हेरिएको
बर्दिबास- महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एकजनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।
ट्याक्टरमा सवार सवै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेमध्ये गम्भीर घाइते दुईजनाको सनाखत हुन सकेको छैन । अन्य सबै औरही वडा नम्बर ५ का नै भएको प्रहरीले जनाएको छ ।
आज बिहान बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन । घाइते भएका मध्ये ४०/४५ वर्ष उमेरको जस्तो देखिने महिलालाई उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको नायव उपरीक्षक रावलले जानकारी दिए । पहिचान खुल्न नसकेका दुईजना महिलाको बर्दिबासमा उपचार हुन नसकेपछि जनकपुस्थित चन्द्रकला अस्पताल पुर्याइएको छ ।
त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल सामान्य उपचारपश्चात् जनकपुर रामजानकी अस्पतालमा रिफर गरिएको छ । उनकाे पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले वताएको छ ।
अन्य घाइतेमा जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रादेवी ठाकुर र चन्द्रादेवी मण्डल रहेको प्रहरीले जनाएको छ ।
अहिले उनीहरुको उपचार जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, सुभस्वस्तिक र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०१-२७ , समय : १०:१४:२८ , २ वर्ष अगाडि