लागूऔषधसहित जनकपुरधामबाट ४ युवक पक्राउ

रेडियो गौशाला , ६९०  पटक हेरिएको

जनकपुरधाम- जनकपुरधामबाट लागूऔषधसहित चारजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराईन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय ईसराईन नदाफ छन् । यस्तै ज.६ प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दिपककुमार पुर्वे छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधिसहित उनीहरुलाई बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरिएको हो ।

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पीडारीचोकदेखि उत्तर तर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध एक्सप्लोन नामक ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए । उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरु समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १०:१६:०१ , १ वर्ष अगाडि