धनुषा : ईन्सपेक्टर यादवसहित ईलाकाको सबैको सबै प्रहरी जिल्ला तानिए, ३ निलम्बनमा

रेडियो गौशाला , ७२७  पटक हेरिएको

जनकपुरधाम- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका सबै प्रहरी जिल्ला तानिएका छन् । प्रहरी हिरासतबाटै थुनुवाहरु फरार भएपछि धनुषाका एसपी विश्व खडकाले ईलाका प्रहरीको सबै प्रहरीलाई जिल्ला तानिदिएका छन् ।

आईतबार राती ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना थुनुवा फरार भएको थियो । सो प्रकरणमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर बेचन यादवसहित सो ईलाकामा कार्यरत २५ जना प्रहरी कर्मचारीलाई नै तानिएको हो ।

ईन्सपेक्टरसहित सबै प्रहरी तानिएपछि हालको लागि प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण चौधरीलाई जिम्मेबारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जस मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।

प्रकाशित मिति: २०२३-०१-३१ , समय : १३:०८:१८ , १ वर्ष अगाडि