रेडियो गौशाला , २३८६ पटक हेरिएको
काठमाडौ । हिजोबाट हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार सकिएको छ । चाडबाड सकिएपछि अब निर्वाचन सामग्रीको ढुवानीको कामलाइ तिब्रता दिने निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक तर्फको मतपत्र अब ९ जिल्लामा मात्रै ढुवानी गर्न बाँकी रहेको छ । सडक सुबिधा नभएको र हेलिकप्टरको माध्यमबाट मतपत्र ढुवानी गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो । प्रत्यक्ष तर्फको मतपत्र ढुवानीको काम पनि २० गते सम्ममा गरिसक्ने आयोगले तयारी गरेको छ ।
हिमाली र दुर्गम जिल्लाका मतपत्र सुरुमा नै छापिसकेर कात्तिक २० गते भित्र निर्वाचन क्षेत्रमा पुर्याईसक्ने आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सीआईएनलाइ जानकारी दिनुभयो ।
निर्वाचन आयोगले यसपटक मतदाता शिक्षाको कार्यक्रमलाइ पनि थप जोड दिने जनाएको छ । स्थानीय तह निर्वाचनको समयमा मतदाता शिक्षामा कमि भएकाले बदर मत बढेको गुनासो आएपछि अहिले मतदाता शिक्षा कार्यक्रमको तरिकालाइ केही सुधार गरिएको सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।
साथै आयोगले राजनितिक दल तथा उम्मेद्वारलाइ पनि मतदाता शिक्षामा जोड दिन अनुरोध गरेको छ । मत माग्ने मात्रै नभइ मत हाल्ने तरिका पनि सिकाउन आयोगले उम्मेद्वारहरूलाइ अनुरोध गरेको छ ।
प्रकाशित मिति: २०२२-१०-२९ , समय : १०:४०:०८ , २ वर्ष अगाडि