रेडियो गौशाला , ८६४ पटक हेरिएको

काठमाडौं- सर्वाेच्च अदालतले नागरिकता मुद्दा विवादमा दोषी ठहर गरेसँगै उपप्रधान तथा गृहमन्त्री पद गुमाएका रवि लामिछानेले पुल्चोकस्थित मन्त्री क्वार्टर भने छाडेका छैनन्।
गत शुक्रबार सर्वाेच्चले दोषी ठहर गरेसँगै उपप्रधान तथा गृहमन्त्री पदबाट लामिछानेले राजीनामा दिए पनि अझैँ मन्त्री क्वार्टर भने र छाडेका छैनन् । त्यसो त मन्त्री क्वार्टरमा लामिछाने आफूँ पनि बस्दैनन् ।
समाचार स्रोतका अनुसार पुल्चोकको सरकारी निवासको साँचो रविले नै बोकेका छन् । अहिले पुल्चोक निवासमा साँचो लागेको तालामात्र झुण्डिएको छ ।

मन्त्रालय स्रोतले भने क्वाटरबाट सर्ने प्रक्रिया पूरा भइसनसकेको बताइएको छ । सरकारी निवास छाड्ने सन्दर्भमा व्यवस्थापन भइरहेको पनि मन्त्रालय स्रोतले जनाएको छ ।
अमेरिकी नागरिकता लिएसँगै पुरानो नेपाली नागरिकता खारेज भए पनि लामिछानेले उक्त नागरिकताकै आधारमा पार्टी सभापति हुँदै सांसद र मन्त्री पदमा आसिन भएका थिए । तर, सर्वाेच्चले उक्त कार्य गैरकानुनी ठहर गरेसँगै सोही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष लामिछानेले राजीनामा बुझाएका थिए।
प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिए पनि लामिछानेले सरकारी निवासको साँचो बुझबुझारथको काम भने गरेनन् । सर्वाेच्चको फैसलाको दुई दिनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नागरिकता लिएका लामिछाने पुनः गृहमन्त्री बन्नेमा ढुक्क थिए । तर, प्रधानमन्त्री प्रचण्डले भने सर्वाेच्चको पूर्णपाठ नबाहिरिएसम्म कसैलाई मन्त्री नबनाउने चट्टानी अडान लिएका थिए ।
बिहीरबा लामिछानेले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको बताएका छन् । यसको मतलब उनले सरकारबाट बाहिरिने संकेत देखाएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो मौनता आजसम्मको मात्रै भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘अब मलाई भन्न, गर्न र लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला,’ उनले भनेका छन्, ‘मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
प्रकाशित मिति: २०२३-०२-०२ , समय : १४:४५:२१ , २ वर्ष अगाडि