साढे ७८ लाखसहित हुन्डी कारोबारी पक्राउ

रेडियो गौशाला , ९२७  पटक हेरिएको

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–९ घरभई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ल छन् ।

काठमाडौं उपत्यकाको न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेशरनिर्देशनविपरीत ईजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरिरहेको सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद ७८ लाख ५० हजार रुपैयाँ र ४ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

पक्राउ परेकामध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले ४ वर्षदेखि न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुन्डीको रकम संकलन गर्ने र बैंक डिपोजिटमार्फत रकम व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी कोइरालाले बताए । उनीहरुले दैनिक करिब १ करोडभन्दा बढीको रकम कारोबार गर्ने गरेको समेत अनुसन्धानमा खुलेको जनाएको छ ।

उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १८:३६:२३ , १ वर्ष अगाडि