मर्निङवाक जाँदा जिउँदो शिशु भेटेपछि….

रेडियो गौशाला , ८६९  पटक हेरिएको

सत्यनारायण महतो ‘आलोक’  आफूलाई ब्रम्हचारी भन्छन्। गृहस्थी नगरेका उनी अहिले १३ बच्चाका बावु बनेका छन्।

आलोक कुनैबेला विद्यावारिधि गर्न अमेरिका हिँडेका थिए। भिसा प्रकृया हुँदै थियो। उनले त्यतिबेला अकस्मात  कबीर सत्संग भेटे। विद्यावारिधि गर्ने रहर छोडेर कबीर दर्शनमा लागे।

कबीर नामले निचिने सन्त कबीरदास चौधौँ शताब्दीका विद्रोही सन्त हुन्। उनी भक्तिसाहित्यको निर्गुण धाराका कवि थिए। उनी रुढीवाद, छुवाछुत, धार्मिक कट्टरताका लगायतका सामाजिक विकृति र विषमताका विरोधी थिए। उनको समयमा उनी एक क्रान्तिकारी सन्त मानिएका थिए। कबीरको क्रान्तिकारिता र  दर्शनले प्रभावित भएका सत्यनारायणको दैनिकी सत्संघमै वित्न थाल्यो। आलोकले २०६२ सालमा कबीर पन्थीहरूको सत्संगका लागि एक आश्रम खोले। उनी त्यहीँ बस्न थालिसकेका थिए।

आजभन्दा १३ वर्षअघिको एउटा घटना भयो। त्यही घटनाले उनको जीवनको बाटो फेरियो।

२०६६ साल साउन २९ गते बिहान पाँच बजे उनी मर्निङ वाकमा निस्किएका थिए। ज्ञानकुप स्कुल नजिकै कुकुर भुकिरहेको देखे। उनले नजिकै गएर हेरे, कपडाको पोको देखे।

कपडामा सालनालसहित रगतमा लतपतिएको एउटा शिशु थियो।

‘नालीमा बच्चा थियो। उसमा कुनै आवाज थिएन। चिच्याउँदा चिच्याउँदै थाकिसकेको थियो होला,’ उक्त घटना सम्झिँदै उनले भने, ‘म अचम्ममा परेँ। बच्चा उठाएर हेरेँ। बच्चा बोकेर आफ्नो आश्रम पुुगेँ। साथीहरू मिलेर अस्पताल लग्यौँ।’

शिशुको स्वास्थ्य खराब देखियो। जनकपुरका अस्पतालमा उपचार भएन। एउटा एम्बुलेन्स लिएर आलोक भारतको दरभंगा पुगे।

शिशु अपरिपक्व अर्थात गर्भावधि पूरा नभई जन्मेको रहेछ। तौल एक किलो २५० ग्राममात्र थियो।

दरभंगाको अस्पतालमा शिशु जाँचेपछि चिकित्सकले सोधे– आमा बितेको हो र? तपाईंकी नातिनी हो?
आलोकले ‘हो’ भने।

‘हो भन्नुबाहेक मसँग अर्को जावफ भएन,’ चिकित्सकसँगको संवाद सम्झँदै उनले भने, ‘१६ दिन आइसियुमा राखेपछि शिशुलाई राम्रो भयो। उनी छोरी थिइन्।’

आलोकले बाटोमा बच्चा भेटेको, उपचार गराएको र आफैँले पाल्न थालेको कुरा स्थानीय समाजमा फैलियो। त्यसरी भेटिएकी छोरीलाई उनले पालन पोषण गर्न थाले।

त्यसको एकवर्षपछिको कुरा हो, २०६७ साउन ११ गते राति ११ बजे, उनलाई अपरिचित नम्बरबाट फोन आयो। फोन गर्नेले भने– बाह्रबिघामा एउटा बच्चा फालिएको छ, लैजानुहुन्छ भने छिटो आउनुहोस्।

उनी साइकल चढेर तुरन्तै त्यहाँ पुगे। सालनालसहितको शिशु लिएर अस्पताल पुगे। स्वास्थ्य अवस्था सामान्य देखियो। शिशु लिएर आश्रम आए।

बिस्तारै उनलाई बेवारिस बच्चा उद्धारका लागि फोन आउन थाल्यो। त्यसरी भेटेका बच्चा ल्याएर पाल्दा लाग्ने खुसी र पाइने आनन्द बेहिसाब भयो।

अन्ततः उनी यस्ता शिशुको उद्धार गर्ने र तिनलाई आश्रय दिने निष्कर्षमा पुगे। यसै अनुसार सुरु भयो ‘सदगुरु कबीर बालआश्रम’।

पाँचवर्षअघि कबीर पन्थीहरूका लागि खोलेको आश्रमलाई २०६८ सालमा ‘सदगुरु कबीर बालआश्रम’ को नाम दिए। जनकपुरधाम उपमहानगरपालिका–८ ज्ञानकुपमा रहेको यो आश्रममा अहिले उनका ११ छोरी र २ छोरा गरेर १३ जना छोराछोरी आइपुगेका छन्।

५० वर्षीय आलोकको दिन तिनै छोरी र छोराको खानपिन, स्याहारसुसार, स्वास्थ्य रेखदेख, शिक्षाको प्रबन्ध इत्यादिमा बित्छ।

सबैभन्दा पहिले भेटेर उद्धार गरिएकी छोरी १३ वर्षकी भइन्। उनी पाँच कक्षामा पढ्दै छिन्।

केही शिशु उद्धार गरेर आश्रममा ल्याइनपुर्‍याउँदै बिते। केही चाहिँ हुर्किंदै गर्दा बिरामी परेर बिते।

जनकपुरकै बासिन्दा मिरादेवी साह पनि आश्रित बालबालिकाको हेरचाहका लागि आश्रममै बस्छिन्। उनलाई बालबालिकाहरूले मिरादिदी भन्छन्।

‘मिराको भूमिका पनि मेरो जत्तिकै छ। उनी पूर्णरूपमा बच्चाको रेखदेख र स्याहारसुसारमा तल्लीन छिन्,’ आलोक भन्छन्, ‘हामीले बच्चाको जीवनलाई आफ्नै जीवन सम्झेर काम गरेका छौँ।’

आश्रममा बालबालिकाको संख्या बढ्न थालेपछि आलोकले कजेलमा पढाउन छाडे। पढाउनबाहेक उनी सत्संग प्रवचन पनि गर्थे। केही दिन निजी ट्युसन कक्षा पनि चलाए तर त्यसका लागि पनि समय पुगेन।

उनी तराईका विभिन्न जिल्लामा सत्संग प्रवचन गर्छन्। यसबाट उनी आश्रमका लागि स्वेच्छिक रूपमा आर्थिक सहयोग पाउँछन्।

जनकपुरका केही बासिन्दाले बिहे, जन्मदिन, पितृहरूको स्मरण इत्यादिका अवसरमा आश्रमलाई आर्थिक र जिन्सी सहयोग गर्ने गरेका छन्।

वैदेशिक रोजगारीमा गएका युवाहरूले पनि सकेको सहयोग गर्ने गरेका छन्। समाजका गन्यमान्य केही व्यक्तिहरूले पनि सहयोग गर्छन्।
यस्तो सहयोगले आश्रमको आर्थिक भार धेरै हदसम्म धानेको छ तर सबै खर्च धान्दैन।

आलोकका अनुसार दैनिक २० जनाका लागि खानेकुरा पाक्छ। आश्रितहरूका लागि लत्ताकपडा, फलफूल, शैक्षिक सामग्री, खेलौना इत्यादि चाहिन्छ। उपचारमा पनि खर्च हुन्छ।

दैनिक सरदर पाँच हजार रुपैयाँ खर्च छ।

आश्रमले राज्यका निकायबाट आर्थिक सहयोग पाएको छैन। आलोक भन्छन्, ‘यी बालबच्चामाथि सरकारको लगानी शून्य छ। हाम्रो समस्या धेरैलाई सुनाएका छौँ।’

खासमा यसरी परित्यक्त बच्चा पालेर बस्ने उनको रहर होइन। उनले यस्तो काम गरूँला भन्ने कल्पना पनि गरेका थिएनन्। परिस्थितिले सिर्जना गरेको हो।

सडकमा फालिएको बच्चा भेटेपछि आफूभित्रको मानवताले तिनको सेवामा आफू लागेको उनले बताए।

सरकारले गर्नुपर्ने काम नगरेपछि बाध्य भएर मानवताको हिसाबले आफू परित्यक्त बालबालिकाको सेवामा लागेको उनको भनाइ छ।

उनी भन्छन्, ‘बालबालिको संरक्षण र भविष्य निर्माण राज्यको जिम्मेवारी हो। अनाथ बालबालिकाको जिम्मा राज्यले लिनुपर्छ।’

आलोक आश्रमका बालबालिकाका लागि हात फैलाएर भिख मागेजसरी आर्थिक सहयोग जुटाउन चाहँदैनन्। मनकारीहरूले मानवता विचार गरेर स्वेच्छाले सहयोग गरून् भन्ने चाहन्छन्।

उनका अनुसार अधिकांश खर्च सत्संग प्रवचनबाटै जुटाउँछन्।

अनाथ बालबालिकाप्रति अझै पनि धेरैको धारणा नकारात्मक रहेको आलोकको निष्कर्ष छ। सरकारी निकाय पनि अनुदार छन्।

‘समाजमा अझै पनि केही व्यक्तिले यी बालबालिकालाई नकारात्मक नजरले हेरेको देख्दा मेरो मन खिन्न हुन्छ,’ उनी भन्छन्, ‘कसैले त आश्रमको बच्चा भनेर होच्याउँछन्। बच्चाको मनमा ठेस पुग्ने कुरा सोध्छन्’

आलोकले सडकबाट बच्चा जम्मा गरेर पालनपोषण सुरु गर्दा कुरा काट्नेहरू पनि थिए। पैसा कामाउन सेवाको नाटक गरेको भन्नेहरू पनि थिए।

उनले यी कसैको वास्ता गरेनन्। आफ्नो लक्ष्यमा अघि बढिरहे।

‘कोही पनि मान्छेले रहरले बच्चा फालेको हुँदैन। जन्माउनै नचाहेको बच्चा फाल्ने हो,’ आलोक भन्छन्, ‘यस्ता बच्चा फल्नु नपर्ने गरी समाजमा सुधार आवश्यक छ।’

बच्चा जन्माएर फाल्नुलाई उनले विकृतिका रूपमा पनि हेरेका छन्। फालिएका धेरै जसो शिशु छोरी हुनुलाई उनले सामाजिक विकृति मानेका छन्।

केही व्यक्ति बच्चा माग्न आश्रममा आउने गरेको पनि आलोकले बताए। करिब एक दशकमा यसरी आएका मध्ये एक जनाले पनि छोरी मागेको छैन।

मागेर आश्रमबाट कसैले बच्चा पाउँदैन।

‘उद्धार गरेकै अवस्थामा म पाल्छु भनेर कसैले लैजान सक्छ। यसमा पनि कानूनी प्रक्रिया पुर्याउनुपर्छ,’ आलोक भन्छन्, ‘यहाँ त पालनपोषण गरेर हुर्काएका बच्चा माग्न आउँछन्। हाम्रो आश्रम बच्चा बेच्ने केन्द्र होइन। यो एउटा परिवार हो।’

आलोकका अनुसार आश्रमको भवन निर्माणका लागि प्रतिनिधिसभाका पूर्वसदस्य उमाशंकर अरगरियाले १० लाख रुपैयाँ जुटाइदिए। जनकपुरधाम उपमहानगरका तत्कालीन मेयर मेयर लालकिशोर साहले सानो पर्खाल निर्माणमा सहयोग गरे।

आलोकले २०६१ सालमा आफ्नै कमाइले एक कठा जग्गा किनेका थिए। आश्रम त्यहीँ बनाएका छन्। पैसाको अभावमा निर्माण कार्य अपूरो छ।

सडकमा फालिएका शिशुको उद्धार गरेर जीवन दिने कर्म गर्न पाउँदा आलोकलाई गौरवको अनुभूति हुने गरेको छ। केही प्रशंसकले जनकपुरधाममा राजा जनकले सीताको उद्धार गरेर पालनपोषण गरेझैँ आलोक पनि कलीयुगका जनक हुन् भन्छन्।

उनी यस्तो प्रशंसाको साटो मानवीय सहयोग गरेको राम्रो मान्छन्।

को हुन् आलोक?

नागरिकता प्रमाणपत्रअनुसार उनको नाम सत्यनारायण महतो हो। पैतृक घर महोत्तरीको बर्दिबास नगरपालिका, बिजलपुरा हो।

उनी चार दाजुभाइमध्ये साहिँला हुन्। उनका पुर्खाहरू कबीरपन्थी थिए। अहिले पनि परिवारका सबैजना शाकहारी छन्।

बर्दिवासमै स्कुलको पढाइ पूरा गरेपछि उनी उच्च शिक्षाका लागि जनकपुर पुगे। जनकपुरमा स्नातकोत्तर तह पूरा गरेपछि त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर पूरा गरे।कविता लेखनमा उनको रुचि थियो। पत्रपत्रिकामा कविता छपाउन थाले।

कविता लेख्ने क्रममै उनले आफ्नो नाममा ‘आलोक’ जोडे। बिस्तारै उनी ‘आलोक’ नामबाटै चिनिए। -सेतोपाटी

प्रकाशित मिति: २०२३-०२-०७ , समय : ११:११:३५ , १ वर्ष अगाडि