रेडियो गौशाला , ६३७ पटक हेरिएको
काठमाडौं- क्रिस्टियानो रोनाल्डोले चार गोल गरेपछि अल नासरले बिहीबार राति साउदी प्रो लिगमा अल वेहदालाई ४–० ले हराएको छ । योसँगै रोनाल्डोले करियरमा ५००औँ लिग गोलको कोसेढुंगा पार गरेका छन् ।
पोर्चुगलका फरवार्ड रोनाल्डो गएको आइतबारदेखि ३८ वर्ष लागेका छन् । रोनाल्डोले २१औँ मिनेटमा गरेको गोलबाट पाहुना टोली अल नासरले अग्रता लिएको थियो । ४०औँ मिनेटमा उनले दोस्रो गोल थपे । ५३औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ६१औँ मिनेटमा उनले चौथो गोल थपे ।
योसँगै रोनाल्डोले पाँच फरक लिग र पाँच फरक क्लबबाट ५०३ गोल गरिसकेका छन् । पाँचपटकको बालोन डी’अर अवार्ड विजेता रोनाल्डो गएको डिसेम्बरमा साउदी क्लब अल नासरसँग अनुबन्ध भएका थिए ।
साउदीमा रोनाल्डोले राम्रो सुरुआत गर्न सकेका थिएनन् । रोनाल्डोले सुरुका तीन खेलमा एक गोल मात्र गरेका थिए । त्यो गोल पनि पेनाल्टीमा गरेका थिए ।
रोनाल्डोले गएको नोभेम्बरमा इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए । युनाइटेडबाट रोनाल्डोले दुई कार्यकालमा गरी १०३ लिग गोल गरेका थिए ।
रोनाल्डोले स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ३११ गोल गरेका थिए । इटालियन सिरी ‘ए’मा युभेन्टसबाट रोनाल्डोलेले ८१ गोल गरेका थिए । रोनाल्डोले आफ्नो व्यावसायिक करियर सुरु गरेको क्लब स्पोर्टिङ लिस्बनबाट तीन लिग गोल गरेका थिए ।
गए राति रोनाल्डोको चार गोलमा सहज जित निकाल्न सफल अल नासर शीर्ष स्थानमा उक्लिएको छ । अल नासरले १६ खेलबाट ३७ अंक जोडेको छ । समान ३७ अंक जोडेको अल शाबब दोस्रो स्थानमा छ । अल शाबबले १७ खेल खेलेको छ । १५ खेलबाट ३४ अंक जोडेको अल इत्तिहाद तेस्रो स्थानमा छ । पराजित अल वेहदा १५ अंकका साथ १६औँ स्थानमा छ ।
प्रकाशित मिति: २०२३-०२-१० , समय : ११:४७:१५ , २ वर्ष अगाडि