महोत्तरीबाट स्रोत नखुलेको १७ लाख भारुसहित एक व्यक्ति पक्राउ

रेडियो गौशाला , ४८७  पटक हेरिएको

महोत्तरी- महोत्तरी प्रहरीले दशगजा क्षेत्रबाट १७ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित प्रहरीले महोत्तरीको मटिहानी–८ का २९ वर्षीय महेश यादवलाई पक्राउ गरेको हो।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सिमानाबाट यादवलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्रबाट प्रतिबन्धित भारतीय नोट ५ सय दरका ३ हजार ४ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यादवलाई आवश्यक कारवाहीका लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:३९:१५ , १ वर्ष अगाडि