कृषि उपकरणको प्रयोग बढ्यो

रेडियो गौशाला , ७६०  पटक हेरिएको

रौतहट- तोरीको दाना झार्न छिटो र सजिलो भएपछि अहिले रौतहटमा थ्रेसर मेसिनको प्रयोग बढ्दो छ । किसानले गोरु पाल्न छोडेपछि मेसिनको प्रयोग बढेको हो ।

यसअघि तोरीका बिटा बाँधेर खला वा खेतका गरामा नै खलो बनाई गोरुले दाइँ गर्ने गरिएकामा अहिले भने मेसिनको प्रयोगले छिटो र सहज भएको छ ।

दुई वर्षअघि थ्रेसर मेसिन खरिद गरी तोरी र धान झार्दै आउनुभएका चन्द्रपुर नगरपालिका–६ का व्यवसायी चन्द्रिका चौधरीले थ्रेसर प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । योसँगै किसानले गोरु पाल्न पनि छोडेका छन् ।

चार/पाँच वर्षअघिसम्म मेसिनले पनि तोरी झार्छ भन्ने प्रश्न गर्ने किसान अहिले मेसिनको प्रयोगबाट कम लागतमै छिटो काम भएको देख्दा मक्ख छन् । मेसिनकै प्रयोगबाट खेतबारी जोत्न, सम्याउन, हिल्याउन, दाना छोडाउनलगायतका काम हुने भएपछि किसानले गोरु पाल्न छोडेका गुजरा नगरपालिकाका किसान जयसिंह धामीले बताउनुभयो ।

कृषि पेसामा संलग्न श्रमशक्ति कम हुँदै गएका कारण मेसिनको प्रयोग बढेको किसान नै बताउँछन् । थ्रेसर व्यवसायी चौधरी भन्नुहुन्छ, “अघिल्लो वर्ष चन्द्रपुर नगरपालिकामा ५०/५५ जना किसानको तोरी थ्रेसर गरेकामा अहिले सिजन सुरु हुँदै सय जना किसानले मेसिन प्रयोग गरी तोरी झारिसकेका छन् । अन्त्यसम्ममा अढाई सय किसानले यसको प्रयोग गर्ने देखिएको छ ।”

थे्रसरले एक घण्टामा १५ कट्ठा क्षेत्रफलमा लगाएको तोरी झार्ने उहाँले बताउनुभयो । उहाँका अनुसार थ्रेसर गर्दा तोरीको झिक्रा एकातिर र दाना अर्कोतिर झर्ने हुँदा केलाइरहने झन्झट हुँदैन । एक घण्टा थ्रेसर चलेको दुई हजार रुपियाँ शुल्क लिइन्छ ।

आधुनिक प्रविधिको विकाससँगै विकसित कृषि प्रविधि र यसको सहज आपूर्तिले किसान परम्परागत कृषि पेसाबाट आधुनिकतातर्फ उन्मुख भएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन कृषि प्रविधिको महत्त्व निकै रहेको वृन्दावन नगरपालिकाका कृषक रामप्रवेश साह बताउनुहुन्छ ।

कृषि प्रविधिलाई विस्तार गरी आधुनिक तवरले खेती गर्न प्रोत्साहित गर्न सके नेपाल खाद्यान्न र तरकारीमा आत्मनिर्भर हुने कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख हरिशङ्कर जैसवालको दाबी छ ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:४४:३४ , १ वर्ष अगाडि