लागूऔषधसहित चार पक्राउ

रेडियो गौशाला , ८१७  पटक हेरिएको

पर्सा- पर्साको वीरगन्जमा प्रतिबन्धित लागूऔषध सहित सर्लाही र धादिङका चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको रक्सौलबाट लागूऔषध लिएर आएका उनीहरुलाई प्रहरीले बुधबार अबेर साँझ वीरगन्ज महानगरपालिका– १६ स्थित डाँफे होटलबाट पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका– ८ का १९ वर्षीय राज मन्सुरी , १९ वर्षीय विशाल मोक्तान , वडा नम्बर ७ का २० वर्षीय राजु राना मगर र धादिङको गजुरी नगरपालिका–२ का २० वर्षीय अजय तमांग जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुको साथबाट डाइजेपाम–५० एम्पुल, नुरफिन–५० एम्पुल, फेनारगन– ५० एम्पुलसहितका प्रतिबन्धित लागु औषध प्रहरीले बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

प्रहरी चौकी बसपार्कबाट खटेको प्रहरी टोलीले होटलमा पुगेर खानतलाशी गर्दा ती युवकहरुले प्लाष्टिकको झोलामा लुकाइ छिपाइ राखेको लागु औषध बरामद गरेको गिरिले बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:१५:४४ , १ वर्ष अगाडि