अवैध उत्खननमा कडाइ

रेडियो गौशाला , ४७६  पटक हेरिएको

ढल्केबर- धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट अवैध उत्खनन भइरहेकोे जनगुनासो बढेपछि रोकथाम गर्न सरोकारवाला निकायले चासो देखाएका छन् ।

नदीजन्य पदार्थको अवैध दोहन रोकथाम गर्ने प्रमुख दायित्व रहेको जिल्ला समन्वय समिति धनुषा र जिल्लाका प्रमुख सुरक्षा निकायले औरही खोलाबाट हुँदै आएको अवैध उत्खनन रोक्न चासो देखाएका हुन् ।

जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल नेतृत्वमा सुरक्षा प्रमुखहरूको टोलीले बुधबार औरही खोला र खोला किनारमा सञ्चालित क्रसर उद्योगको अनुगमन गर्नुभयो । अनुगमन टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदी र मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोसमेत हुनुहुन्थ्यो ।

अनुमगनकै क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले थुपारिएका ढुङ्गा, गिट्टी र बालुवा प्रमाणित भए–नभएकोबारे क्रसर उद्योगीलाई बोलाएर बुझ्न नगरप्रमुख महतोलाई आग्रह गर्नुभयो । उहाँले नदीजन्य वस्तुको निकासी र क्रसर उद्योगको वैधताबारे पनि जानकारी लिन भन्नुभयो ।

यस्तै प्रहरी उपरीक्षक खड्काले नदीबाट हुने गरेको अवैध उत्खनन रोक्न प्रहरी गस्ती बढाउन आफ्ना मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । मिथिला नगरपालिकाका नगरप्रमुख महतोले ठेक्कै नलागेको खोलाबाट अवैध उत्खनन भइरहेको जानकारी आएपछि अनुगमन गरिएको बताउनुभयो । अनुगमनको क्रममा सार्वजनिक तथा विभिन्न ठाउँमा थुपारिएका नदीजन्य पदार्थबारे सोधीखोजी गरिने जानकारी दिनुभयो ।

एक–दुई दिनमै क्रसर उद्योगीलाई पत्रचार गरेर जाँचबुझ गर्ने र अवैध ठहर भए जफत गरिने छ । अवैध उत्खननले नगरपालिकाको राजस्व गुमेको बताउँदै नगरप्रमुख महतोले जथाभाबीको उत्खनन जनधनको क्षतिसमेत पु¥याइरहेको बताउनुभयो ।

उक्त औरही खोला किनारमा छवटा क्रसर उद्योग छन् । क्रसर उद्योगीले दिउँसोभन्दा राति उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।

सोही औरही खोलामा तीन वर्षअघि अवैध उत्खनन रोक्न पुगेका दिलीप महतोको हत्या भएको थियो । हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालत धनुषाले बुधबार दोषी ठहर गरेको छ । दिलीपको हत्या घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनिन्द्र महतोलाई दोषी ठहर गरेको जिल्ला अदातल धनुषाका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०२-१७ , समय : ०९:३५:०० , १ वर्ष अगाडि